हुलदंगा तथा आतंकवाद बीमाको कमिशन घटाउने नेपाल रिको निर्णय, बीमा कम्पनीहरु आक्रोसित

२९ फाल्गुन २०८२, शुक्रबार १६:०८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा तथा आतंकवाद बीमामा बीमा कम्पनीहरुलाई दिँदै आएको कमिशन उच्च दरले घटाउने एकतर्फी निर्णय गरेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका छन् । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै हुलदंगा तथा आतंकवाद बीमामा दिँदै आएको कमिशन घटाइएको जानकारी गराएका छन् ।

जेनजी आन्दोलनको ठूलो क्षतिपछि पुनर्बीमा कम्पनीले एकाएक कमिशन रकम घटाएपछि बीमा कम्पनीहरु आक्रोसित बन्न पुगेका छन् । सिईओ थापाले नेपाल बीमक संघलाई समेत कुनै जानकारी नदिई एकतर्फी निर्णय गरेर लाद्ने प्रयास गरेपछि सबै निर्जीवन बीमा कम्पनीका सिईओहरु आक्रोसित बनेका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओले हुलदंगा तथा आतंकवाद बीमाको कमिशन घटाउने निर्णय गरिएको स्वीकार गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको निर्णय अनुसार सबै बीमा कम्पनीहरुलाई हुलदंगा तथा आतंकवाद बीमाको कमिशन २० प्रतिशतसम्म घटाउने निर्णय गरिएकोले कार्यान्वयन गर्न पत्राचार गरिएको स्रोतले जनाएको छ । पुनर्बीमा कम्पनीले बीमक संघमा पत्र पठाएको खुलेको छ ।

यसअघि बीमा कम्पनीहरुलाई ५० प्रतिशतसम्म कमिसन दिँदै आएको नेपाल पुनर्बीमा कम्पनीले अहिले १५ देखि २० प्रतिशतसम्म कमिशन घटाउने भएसँगै कम्पनीहरु नेपाल रि को प्रस्तावलाई अस्वीकार गरेका छन् । एक बीमा कम्पनीका सिईओले बीमापोष्टसँग भने, ट्रिटीमा हामीले साउनमै साइन गरिसकेका हुन्छौं, नेपाल रिले के भनेको हो ?।’ ‘नेपाल रिमा कानुन पढेका मान्छे छन् कि छैनन् मलाई थाहा छैन । व्यापार ट्रिटी अनुसार हुन्छ कि मुखले भनेको भरमा हुन्छ ?’ ति सिईओले नैतिक र कानुनी प्रश्न उठाउँदै आक्रोस पोखे ।

जेनजी आन्दोलनका कारण कम्पनीमा धेरै दाबी परेपछि आगामी वर्षका लागि कमिसन घटाएको कम्पनीले जनाएको छ । तर, बीमा कम्पनीहरुले भने यस बिषयमा सहमती जनाउन मानेका छैनन् ।
नेपाल बीमा प्राधिकरणले हुलदंगा तथा आतंकवाद बीमा अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले बीमांक रकम बराबरको हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा पनि सोही कम्पनीमै गर्नुपर्नेछ । जेनजी आन्दोलनका क्रममा क्षति भएका सबै सम्पत्तिको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नै गरिएकाले कम्पनीले ठूलो भुक्तानी गर्नुपरेको हो ।

यता कम्पनीको सिईओ सुरेन्द्र थापाले कम्पनीमा राम्रोसँग काम गर्न सकेका छैनन् । प्राविधिक बिषयमा ज्ञान नभएको र बिज्ञहरुसँग उचित सल्लाह नलिई एकल निर्णय गर्ने गर्दा नेपाल रि मा पछिल्लो समय आन्तरिक विवाद समेत उत्पन्न भएको छ ।
कम्पनीले पुनर्बीमा कमिसन ३५ प्रतिशतसम्मको प्रत्यक्ष बीमाको पुनर्बीमा कमिसन १० प्रतिशतले घटाएर अधिकतम २५ प्रतिशतमा झारेको छ । यसबाट पनि बीमा कम्पनीहरु पुनर्बीमा कम्पनीसँग रुष्ट बन्न पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*