निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर, कुनको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाबाट लागू हुने गरी मुद्दती निक्षेपमा दिने ब्याजदरमा फेरि सामान्य समायोजन गरेका छन्।
चैत १ गतेदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत ग्राहकलाई प्रदान गरिने मुद्दती निक्षेपको औसत ब्याजदर अघिल्लो महिनाको तुलनामा केही कम भएको छ। फागुन महिनामा औसत ४.५७ प्रतिशत रहेको यस्तो ब्याजदर चैतमा झरेर करिब ४.४९ प्रतिशतमा सीमित भएको देखिन्छ।
संस्थागत निक्षेपतर्फ पनि समान प्रवृत्ति देखिएको छ। फागुन महिनामा औसत ३.३३ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको दर चैतमा घटेर करिब ३.२९ प्रतिशतमा आएको छ। बैंकहरूले संस्थागत निक्षेपको लागत पनि क्रमशः घटाउँदै लगेको देखिन्छ।
बैंकहरूले प्रत्येक महिना निक्षेपको ब्याजदर पुनरावलोकन गर्ने व्यवस्था अनुसार चैत महिनाका लागि केही बैंकहरूले मात्र दर घटाएका छन् भने अधिकांश बैंकहरूले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुल वाणिज्य बैंकमध्ये ६ वटा बैंकले नयाँ महिनामा मुद्दती निक्षेपको ब्याजदर कम गरेका हुन्।
ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यता अन्य धेरै बैंकहरूले भने दरमा कुनै परिवर्तन नगरी स्थिर राखेका छन्। एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले चैत महिनामा अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।












