प्रधानमन्त्रीले जथाभावी गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्छ भने सदन र सडक दुवै तताउने काम म गर्नेछु ! जय जनता ! जय लोकतन्त्र !!”
केही महीना अघि मात्रै श्रम संस्कृति पार्टीको स्थापना गरेका हर्क साम्पाङ प्रधानमन्त्री बन्ने आकाङ्क्षा सहित फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका थिए। उनको पार्टीले प्रत्यक्षतर्फ ३ क्षेत्रमा जित निकालेको छ भने समानुपातिकतर्फ ४ सिट पाएको छ। यसरी श्रम संस्कृति पार्टी स्थापना भएको छोटो समयमै ७ सिट सहित राष्ट्रिय दल बन्न सफल भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ बहुमत ल्याएर बालेन शाहको नेतृत्वमा मन्त्रीमण्डल गठन गर्ने गृहकार्यमा जुटिरहँदा हर्क साम्पाङले भने चेतावनी दिइरहेका छन्। केही दिन अघि मात्रै उनले बालेनको सट्टा रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सुझाव दिंदै त्यसो नगरे सदनमा बबाल गर्ने चेतावनी दिएका थिए। निर्वाचन पश्चात् उनले आफू सदनमा गएपछि सबैभन्दा बलियो प्रतिपक्षको रूपमा भूमिका खेल्ने बताउँदै आएका छन्।












