पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ

काठमाडौँ । पश्चिम नेपालबाट सुरु भएको वर्षा प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो।
विभागका सूचना अधिकारी गोविन्द झा कायस्थका अनुसार प्रारम्भमा सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाबाट सुरु भएको वर्षा क्रमशः मध्य क्षेत्रतर्फ फैलिँदै अहिले चितवनसम्म आइपुगेको छ। पश्चिमका डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङसँगै गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची र मनाङलगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको उनले बताए।
पछिल्लो एक घण्टाको तथ्याङ्कअनुसार गुल्मीमा १७ मिलिमिटर र तनहुँमा ११ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। ती क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको बताइएको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा साधारणतया बदली भएको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।
त्यस्तै तराईका केही स्थान र काठमाडौँ उपत्यकासहितका क्षेत्रहरूमा बिहान हुस्सु लागेको विभागले जनाएको छ। आज जारी गरिएको मौसम बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने उल्लेख गरिएको छ। बाँकी भूभागमा भने आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ।
देशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा केही उच्च हिमाली स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।












