सञ्चार उद्यमीको हत्यामा संलग्न राम विनोद यादव रास्वपाबाट सांसद जितेपछि…..

१ चैत्र २०८२, आईतवार १३:३८

काठमाडौँ । पत्रकारको हत्यामा दोषि देखिएका राम विनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेको खुलासा भएको छ । जनकपुर टुडेका प्रकाशक तथा चर्चित पत्रकार अरुण सिंघानियाको हत्या प्रकरणमा संलग्न देखिएका राम विनोद यादव रास्वपाबाट सांसद बनेपछि बौद्धिक जगतमा रास्वपाभित्रको अनुसन्धान तथा उम्मेदवार छनौट प्रक्रियामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

जनकपुर क्षेत्रमा हत्या, हिंसा, लूटपाटमा संलग्न रहेको आपारधिक समुहका नाइके सञ्जय कुमार शाहको टिममा बसेर काम गरेका राम विनोद यादव केही समय पहिले रास्वपा छिरेर रवि लामिछाने निकटका व्यक्तिलाई घुस खाएर सांसद पदको टिकट लिएर चुनाव जितेको खुलेको छ । उनी हत्यामा संलग्न भएको ठहर भएपछि जेल चलान भएका थिए । करिब दुई बर्ष कैद भुक्तान गरेर बाहिर निस्किएका साहले घण्टी चिन्ह लिएर चुनाव जितेका हुन् ।

जनकपुरमा २०६७ फागुन १७ गते होली खेलिरहेको भीडबीच पत्रकार सिंघानियालाई नजिकबाट गोली हानी हत्या गरिएको थियो । त्यो घटना त्यतिबेला मधेस क्षेत्रकै चर्चित पत्रकार हत्या प्रकरणका रूपमा चर्चामा आएको थियो । सो घटनामा संलग्न विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेपछि हत्या योजनादेखि कार्यान्वयनसम्मको विस्तृत सञ्जाल खुलेको थियो ।

सिंघानिया हत्या प्रकरणको मुख्य योजनाकार सञ्जयकुमार साह रहेको अनुसन्धानबाट खुलेको थियो । जनकपुर टुडे पत्रिकाले प्रकाशित गरेको एउटा समाचार नै उनको कारण भएको प्रहरीले निष्कर्ष निकालेको थियो । २०६५ साल भदौ १३ गते धनुषाको तत्कालीन रामानन्द युवा क्लबका अध्यक्ष तथा जिल्ला विकास समिति धनुषाका लेखापाल जीवनाथ चौधरीको घरमा डकैती भएको थियो । सो घटनाबारे सिंघानिया प्रमुख रहेको जनकपुर टुडे पत्रिका र एफएममा समाचार प्रकाशित तथा प्रसारण भएको थियो ।

उक्त समाचारमा डकैती योजनामा सञ्जयकुमार साहको नाम जोडिएको थियो । शाह र चौधरी समूहको लामो समय देखि सो क्षेत्रमा लडाई हुदै आइरहेको थियो । तिनै अध्यक्षलाई मार्ने शाहले जनकपुरको रामानन्द चोकमा बम विस्फोट समेत गराएका थिए । सो बम विस्फोटपछि जन्मकैद भएका शाह सिंहानियाको हत्यामा समेत जोडिएको प्रहरीको निष्कर्ष रहेको छ ।

समाचार आफ्नो नाम आएपछि शाहले पत्रकार पटक–पटक धक्की दिएका थिए । तर, समाचार नसच्चिने भनेपछि उनले हत्या गर्ने नै योजना बनाए । अनुसन्धानमा खुलेअनुसार साहले आफ्नो कदम चोकस्थित घरको छतमा चनरदीप यादव र राम विनोद यादवसँग पटक–पटक छलफल गरेर हत्या योजना बनाएका थिए । तीन पटकसम्म बैठक बसेर हत्या कसरी गर्ने, कसलाई प्रयोग गर्ने र कसरी कार्यान्वयन गर्ने भन्ने रणनीति तयार गरिएको थियो ।

त्यसपछि चनरदीप यादवले एकलाल सहनीमार्फत सुटर समूह तयार गरेका थिए । सो समूहमा पवन लामा, मनक लामा, एकलाल र दीपेन्द्र कुसियतलाई समावेश गरिएको थियो । चार जनाको समूहलाई पाँच लाख रुपैयाँमा पत्रकार सिंघानियाको हत्या गर्न सहमति गराइएको थियो । हत्या योजनाको अन्तिम तयारीका लागि घटनाका दिन स्थानीय रामा होटलको कोठा नम्बर १०३ मा उनीहरू जम्मा भएको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीको विज्ञप्तिअनुसार हत्या गर्न प्रयोग हुने बन्दुकको व्यवस्था गर्ने तथा लक्षित व्यक्तिलाई चिनाउने काम हाल घण्टी चिन्हमा चुनाव जितेका राम विनोद यादवले नै गरेका थिए । घटनाको दिन सुटर समूहलाई भानु चोकतर्फ लगेर राम विनोद यादवले नै सिंघानियालाई चिनाइ दिएका थिए । त्यसपछि होली खेलिरहेको भीडमा मनक लामा र पवन लामा प्रवेश गरेका थिए । भीडभित्र नजिक पुगेर उनीहरुले पत्रकार सिंघानियाको टाउकोमा गोली प्रहार गरेका थिए । दुबैको गोली लागेपछि सिंघानिया घटनास्थलमै ढलेर प्राण त्याग गरेका थिए ।

अनुसन्धानले देखाएको विवरणअनुसार सो हत्यामा विभिन्न तहमा तीनवटा समूह सक्रिय थिए । पहिलो समूह सुटर समूह थियो जसमा पवन लामा र मनक लामा थिए । दोस्रो समूहमा एकलाल सहनी र अंशी राईन रहेका थिए भने तेस्रो समूहमा चन्द्रदिप यादव र विजय कुसियैत थिए । आदेश दिने तहमा चन्द्रदिप यादव र राम विनोद यादव रहेको तथ्य पनि खुलेको थियो ।

हत्या गर्न प्रयोग भएको पेस्तोल पनि राम विनोद यादवले नै मनक लामालाई दिएका थिए । हत्या सफल भएपछि मनक लामाले ९० हजार रुपैयाँ पारिश्रमिक पाएको प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको बयान पत्रमा उल्लेख छ ।

सो घटनामा संलग्न धेरै व्यक्तिहरू पक्राउ परे पनि राम विनोद यादव भने लामो समय फरार रहेका थिए । उनी फरार भएको करिब सात वर्षपछि मात्र २०७३ साउन ३२ गते जिल्ला अदालत धनुषामा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएपछि उनीमाथि सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो ।

२०७६ असार १७ गते जिल्ला अदालत धनुषाले दिएको फैसलामा राम विनोद यादवलाई हतियार उपलब्ध गराएको र हत्या योजनामा संलग्न रहेको भन्दै दोषी ठहर गरेको थियो । अदालतले उनलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नम्बर बमोजिम तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसला विरुद्ध उनले २०७६ मंसिर १३ गते उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए । तर उच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरिदियो । त्यसपछि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेपछि जिल्ला अदालतको फैसला नै अन्तिम भएको थियो ।

पत्रकार सिंघानियाको हत्यामा संलग्नता ठहरसँगै तीन वर्ष कैद सजाय भुक्तान गरेपछि राम विनोद यादव रिहा भएका थिए । बीचमा सार्वजनिक जीवनबाट बाहिर रहेका यादव अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेको तथ्य बाहिरिएपछि यो विषयले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ ।

जेनजी पुस्ताको भावना समेट्ने विश्वास गरिएको रास्वपाभित्रै हत्यारा सांसद बनेर आएपछि गम्भिर नैतिक प्रश्न चिन्ह उठेको छ । सुशासन, पारदर्शिता र स्वच्छ राजनीतिका नारा लिएर उदाएको भनिएको रास्वपामाथि नैतिक प्रश्न उठ्न थालेका छन् । पत्रकार हत्या प्रकरणमा दोषी ठहर भइसकेका व्यक्तिलाई उम्मेदवार बनाउने र सांसद बनाउने निर्णयले पार्टीको मूल्य र प्रतिबद्धतामाथि प्रश्न उठेको छ ।

नयाँ राजनीतिक शक्ति भन्ने दाबी गर्ने दलले उम्मेदवार छनोटमा अझ बढी संवेदनशीलता देखाउनु पर्ने अपेक्षा हुन्छ । तर हत्या जस्तो गम्भीर अपराधमा संलग्न रहेको व्यक्ति सांसद बन्नु लोकतान्त्रिक मूल्यका लागि चिन्ताजनक हो । सुशासन र भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका बालेन शाहले निज हत्यारा साहलाई सांसद स्वीकार गर्छन् वा के गर्छन त्यो प्रतिक्षाको बिषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*