बजारमा झिनो सुधारः कारोबार झण्डै साढे १४ अर्ब, मार्केट प्रवेशको सहि समय हो ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । प्रतिनिधि सभाको निर्वाचनपछि गत साता पुँजी बजारमा स्थायी सरकार आउने आशाले सोमबार सकारात्मक लहर देखिएको थियो । तर सो यताका दुई कारोबारको दिन बजारमा फेरगिरावट देखिँदा लगानीकर्तामा मिश्रित प्रतिक्रिया उत्पन्न भएको थियो। पुनः बिहिबार शेयर बजार दोहोरो अंकले बढेको थियो भने आज आइतबार पनि बजारमा झिनो अंकले सुधार आएको छ । यसबीच कारोबार रकम उल्लेख्य रूपमा बढेको देखिएको छ ।
निर्वाचन नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको मत प्राप्त गरेपछि बजारमा स्थिरता आउने अपेक्षा गरिएको थियो। राजनीतिक अस्थिरताको प्रभावमा सधैं रहने पुँजी बजारले यस पटक स्थायी सरकारको सम्भावनासँगै प्रारम्भमा उत्साह देखाएको थियो। विशेषज्ञहरूले भने प्रारम्भिक प्रतिक्रियालाई सकारात्मक संकेतका रूपमा लिइरहेका छन् ।
बजार जानकारहरूले वर्तमान स्थिति दीर्घकालीन दृष्टिले पनि सकारात्मक रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो समय शेयर बजारको प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ भने ब्याजदर न्यून भइसकेको छ। धितोपत्र बोर्डले पनि सकारात्मक संकेत देखाइरहेको अवस्थामा लगानीकर्ताले दीर्घकालीन स्थिर वृद्धि आउन सक्ने अपेक्षा गरेका छन्। यसप्रकार, पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै बजार मजबुत बन्ने सम्भावना देखिएको छ।
बजारमा देखिएको हालको गिरावटलाई विशेषज्ञहरूले बजार करेक्सनको रूपमा व्याख्या गरेका छन्। यसले लगानीकर्तालाई सोच–विचार गरेर उपयुक्त कम्पनीमा लगानी गर्ने अवसर प्रदान गर्नेछ। रास्वपाको आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति, राजनीतिक स्थिरता, बैंकिङ क्षेत्रको लचिलो नीति, न्यून ब्याजदर र धितोपत्र बोर्डको सकारात्मक गतिविधिले बजारमा दीर्घकालीन वृद्धि आउने वातावरण तयार गरेको विश्वास लगानीकर्तामा रहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक भने घटेको छ । आज होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५४ प्रतिशत, जीवन बीमा समूहको ०.४६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आइतबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ९ उपसूचक भने स्थिर रहेको हो ।












