कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल

काठमाडौं । भरतपुर–चितवनमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले नेपालमा औषधि उत्पादन क्षेत्रलाई विस्तार गर्दै आइरहेको छ। करिब १ विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको यस उद्योगले विगत करिब १३ वर्षदेखि विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै देशभरका बिक्री डिपोमार्फत बजारमा आपूर्ति गर्दै आएको छ।
कम्पनीले हालसम्म १८२ भन्दा बढी औषधि उत्पादनका लागि अनुमति प्राप्त गरेको छ भने तीमध्ये १२५ भन्दा बढी औषधिहरु बजारमा नियमित रूपमा बिक्री भइरहेको जनाइएको छ। औषधि उद्योग क्षेत्रमा लामो अनुभव हासिल गरेका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक इश्वर भण्डारीको नेतृत्वमा कम्पनी सञ्चालन हुँदै आएको छ। दुवैजना तीन दशकभन्दा बढी समयदेखि औषधि व्यवसायमा सक्रिय रहेका अनुभवी उद्यमी मानिन्छन्।
हाल कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ। संस्थापक समूहका लागि थप १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। त्यसपछि सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरिएको छ। कम्पनीले यसका लागि चालु चैत महिनाभित्रै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिने योजना बनाएको छ। प्रस्तावित सेयर निष्काशन सम्पन्न भएपछि कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने बताइएको छ।
आईपीओ निष्काशन व्यवस्थापनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। सार्वजनिक निष्काशनको तयारीस्वरूप कम्पनीले इन्फोमेरिक्स नेपालमार्फत क्रेडिट रेटिङ्ग समेत गराइसकेको छ। उक्त संस्थाले कम्पनीलाई ‘बीबी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय अवस्थालाई मध्यम जोखिमयुक्त तर सञ्चालन निरन्तरताका दृष्टिले सक्षम रहेको संकेत गर्ने बताइएको छ।
कम्पनीका अनुसार विगतमा लिइएका अधिकांश कर्जा भुक्तानी भइसकेको छ र हाल अत्यन्त सीमित मात्रामा ऋण प्रयोग गरिएको छ। हाल कम्पनीमा करिब २४ करोड रुपैयाँ बराबरको कर्जा रहेको जानकारी दिइएको छ। कम्पनीले अघिल्ला वर्षहरुमा नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको र आगामी दिनमा पनि लाभांश दिने लक्ष्य राखेको जनाएको छ।
आर्थिक विवरणअनुसार २०८२ साल पौष मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९३ पैसा रहेको छ। नियामक निकायका लागि गणना गरिएको वास्तविक नेटवर्थ भने ९२ रुपैयाँ ५ पैसा रहेको कम्पनीले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म यो वास्तविक नेटवर्थ ११२ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान गरिएको छ।
कम्पनीले आईपीओ निष्काशनसँग सम्बन्धित आवश्यक प्रक्रिया लगभग सम्पन्न गरिसकेको जनाएको छ। नयाँ सेयरधनी लगत प्राप्त भएपछि नियामक निकायमा आवेदन पेश गर्ने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।












