स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्र कार्डमार्फत

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ ।
बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र ९एनआईडी० नम्बरमा आधारित बनाउने तयारी गरेको हो ।राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गर्ने तयारी भइरहेको बताए ।
मल्लका अनुसार बोर्डले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेर गृहकार्य गरिरहेको छ ।
अहिले देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने स्वास्थ्य बीमा बोर्डको भनाई रहेको छ ।
नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।












