टंगाल माविका विद्यार्थीलाई नबिल बैंकद्वारा वित्तीय साक्षरता प्रशिक्षण

३ चैत्र २०८२, मंगलवार ०९:०३

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा टंगाल माध्यमिक विद्यालयमा अध्ययनरत ‘प्लस टू’ सम्मका विद्याथीहरूलाई वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको छ।

बैंकको मालिगाउँ शाखा कार्यालयले चैत २ गते काठमाडौंको टंगालस्थित उक्त विद्यालयमा अध्ययनरत करीब ४० जनाभन्दा बढी विद्यार्थीहरूलाई “वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम” को आयोजना गरी प्रशिक्षण दिइएको हो। बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ‘ग्लोबल मनी वीक’ को अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा मालिगाउँ शाखा कार्यालयका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी प्रस्तुति दिएका थिए। उक्त कार्यक्रममा मालिगाउँ शाखा कार्यालयका सम्बन्ध अधिकृत कृपा दाहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको पनि उपस्थिति रहेको थियो।

दुवैजनाले विद्यार्थीहरूलाई बचतको महत्त्व, बैंकिङ प्रणालीको प्रयोग, डिजिटल भुक्तानी तथा सुरक्षित वित्तीय व्यवहारबारे जानकारी गराएका थिए। कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन कारोबारको प्रयोग बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान आवश्यक रहेको बताए। साथै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे पनि जानकारी दिइएको थियो।

सहभागीहरूले वित्तीय साक्षरताले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नबिल बैंकका अनुसार समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*