आयल निगममा भट्टको सेटिङ रोकिएन, आधा सिलिण्डर ग्याँसमा कमिशनको खेल

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट भर्खरै सम्पन्न भएको निर्वाचनपछि पनि सेटिङमै व्यस्त छन् । नेपाली कांग्रेसबाट सेटिङमा आयल निगमको कार्यकारी निर्देशक बनेका भट्ट अहिले पनि कमाउने दाउमा व्यस्त छन् । पछिल्लो पटक ग्याँसको कालोबजारीमा भट्टले नतिजामूखि भूमिका खेल्न नसकेको आरोप लागेको छ ।
एकाएक आधा सिलिण्डर ग्याँस बजारमा पठाउने निर्णय गरेका भट्टले उक्त निर्णय बापत ग्याँस व्यवसायीहरुसँग राम्रै सेटिङ गरेको चर्चा आपूर्ति मन्त्रालयमा चलिरहेको छ । आधा सिलिण्डर ग्याँस बजारमा पठाउँदा ग्याँस उद्योगीहरुले पाउने कमिशन भने पुरा सिलिण्डर जत्तिकै हुन्छ । आधा सिलिण्डर ग्याँस बजारमा पठाउने निर्णयसँगै ग्याँस उद्योगीहरुको मुनाफा अबको दुई महिनासम्म दोब्बर भइरहनेछ ।
बजारमा हजारौं सिलिण्डर पुरा तौलको हुँदा हुँदै पनि उद्योगीहरुले अभाव सिर्जना गर्न लुकाएर राखेका थिए । सो मध्येमा छ हजार वटा पुरा तौल ग्याँस भरिएको सिलिण्डर हिजो बाणिज्य तथा आपूर्ति विभागले फेला पारी कारवाही प्रक्रिया अघि बढाइसकेको छ ।
भारतबाट आएको ग्याँस र नेपालका उद्योगीहरुले बिक्री वितरण गरेको ग्याँस र स्टक ग्याँसबारे अध्ययन समेत नगरी भट्टले आधा सिलिण्डर ग्याँस बिक्री गर्ने निर्णय लिएका थिए । निगम स्रोतका अनुसार भट्टले सेटिङमा व्यापारीसँग मिलेर इरान युद्ध सुरु हुने वित्तिकै आधा सिलिण्डर ग्याँस बजारमा लैजाने निर्णय गराउन हाहाकार सिर्जना गराएको र बजारमा ग्याँसको चरम अभाव भएको भन्दै हल्ला फैलिए लगत्तै आधा सिलिण्डर ग्याँस बिक्री गर्ने निर्णय गरिएको थियो ।
ग्याँस उद्योगीहरुले सामान्य रुपमा माग गर्ने वित्तिकै निगमका कार्यकारी निर्देशक भट्टले उनीहरुको माग तत्कालै पुरा गरिदिएका थिए । यसबाट आउने कमिशन भागबण्डा गर्ने शर्तमा आधा सिलिण्डर ग्याँस बजारमा पठाउने निर्णय गरिएको बुझिएको छ । सोबारेमा जिज्ञाशा राख्न खोज्दा कार्यकारी निर्देशक भट्ट सम्पर्कमा आएनन् ।












