प्रभु बैंकका कर्पाेरेट विभाग प्रमुख दिनेश डंगोल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ्ग कसूर मुद्दामा प्रभु बैंक लिमिटेडका कर्पाेरेट र प्राजेक्ट फाइनान्स विभागको प्रमुख ५० वर्षीय दिनेश डंगोललाई पक्राउ गरेको छ।
प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचन समेत उपर अनुसन्धान भइरहेको बैंकिङ्ग कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा बैंकका कर्पाेरेट विभाग प्रमुख डंगोल प्रभु बैंकबाट प्रभु म्यानेजमेण्ट प्रा.लि समेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूरमा संलग्न भएको पाइएपछि सीआईबीले पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका वडा नम्बर २७ घर भएका डंगोललाई पाटन उच्च अदालतबाट पक्राउ पूर्जी जारी गरी चैत २ गते काठमाडौंको थापाथलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको सीइआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।












