कांग्रेसका सभापति गगन थापाद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएका थापाले बुधबार पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हु्न्।
गत माघमा सम्पन्न भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति पदमा निर्विरोध निर्वाचित भएका गगन थापा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका थिए।
उक्त निर्वाचनमा पहिलो दल बनेको रास्वपाले कुल १८२ सीट जित्दा अघिल्लो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले जम्मा ३८ सीट जितेर दोस्रो ठूलो दल बनेको छ। चुनावी नतिजालगत्तै राजीनामा दिन तत्पर भएका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिंदै आएका थिए।
थापाले दिएको राजीनामाबारे पार्टीको अब बस्ने बैठकले निर्णय गर्नेछ। नेपाली कांग्रेसको कार्यसमिति बैठक भोलि शुक्रबार बोलाइएको छ।












