निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझाइँदै, बालेन प्रधानमन्त्री बन्ने आज कि भोलि?

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आज औपचारिक रूपमा राष्ट्रपतिलाई बुझाउने भएको छ।
आयोगले आजै समानुपातिकतर्फ निर्वाचित भएका ११० जना सांसदहरूलाई प्रमाणपत्र पनि वितरण गर्ने तयारी थालेको छ। प्रत्यक्षतर्फबाट निर्वाचित भएका १६५ जनालाई आयोगले प्रमाणपत्र बुझाइसकेको छ भने समानुपातिकतर्फबाट निर्वाचित भएकालाई आज प्रमाणपत्र दिन लागेको हो।
समानुपातिकबाट निर्वाचित सबै सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणाम सहित समग्र प्रतिवेदन बुझाने तयारी थालेको हो। राष्ट्रपतिले निर्वाचनको परिणाम प्राप्त गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत प्राप्त गरिसकेकोले उपधारा १ अनुसार बहुमत प्राप्त दलबाट सरकार गठन हुन लागेको हो। राष्ट्रपतिले मतपरिणाम प्राप्त गरेपछि सरकार गठनका लागि आह्वान गर्नेछन्।
रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको हुनाले रास्वपाभित्रको बालेनलाई संसदीय दलको नेता बनाउने आन्तरिक प्रक्रिया पूरा भएमा बालेन सम्भवतः आजै प्रधानमन्त्री पदमा नियुक्त हुनेछन्। तर आन्तरिक प्रक्रिया पूरा नभएमा बालेन शाह भोलि वा केही दिनभित्र प्रधानमन्त्री पदमा नियुक्त हुनेछन्।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सीट र समानुपातिकतर्फ ५७ सीट गरी कुल १८२ सीट जितेको छ भने कांग्रेले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सीट जितेको छ।
त्यसैगरी नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी जम्मा २५ सीट जितेको छ भने नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी जम्मा १७ सीट जितेको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी जम्मा ७ सीट र राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सीट जितेको छ। बाँकी १ सीट भने म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेका छन्।












