इरानको ग्यास क्षेत्रमा आक्रमणपछि इराकमा आपूर्ति ठप्प, ऊर्जा सङ्कटको जोखिम बढ्दै

५ चैत्र २०८२, बिहीबार ११:०६

काठमाडौँ ।  इरानको प्रमुख प्राकृतिक ग्यास क्षेत्रमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द भएको छ। इराकी सञ्चारमाध्यमहरूले त्यहाँको विद्युत मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

इराकी विद्युत मन्त्रालयका प्रवक्ता अहमद मूसाका अनुसार क्षेत्रीय तनाव र ग्यास क्षेत्रमा भएको क्षतिका कारण इरानबाट आउने ग्यास आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इराकले आफ्नो कुल ग्यास तथा विद्युत आवश्यकताको एक तिहाइभन्दा बढी हिस्सा इरानबाट आयात गर्ने गर्दछ। आपूर्ति रोकिएसँगै इराकमा ऊर्जा सङ्कट गहिरिन सक्ने आशंका गरिएको छ।

इरानी सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्स ग्यास क्षेत्रमा हवाई हमला भएको दाबी गरेका छन्। ग्यास क्षेत्रअन्तर्गत रहेको पेट्रोकेमिकल कम्प्लेक्समा आक्रमण भए पनि उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन।

यस घटनाले क्षेत्रीय राजनीतिक तनावलाई थप चर्काएको छ। तस्नीम न्यूज एजेन्सीले बुधबार भएको आक्रमणका लागि इजरायल र अमेरिकालाई जिम्मेवार ठहर गरेको छ। इरानी पक्षले यसको जवाफमा अमेरिका र उससँग सम्बन्धित सबै तेल तथा ग्यास रिफाइनरीहरूलाई निशाना बनाउने चेतावनी दिएको जनाएको छ।

साउथ पार्स ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ, जहाँ इरान र कतार दुवै देशले आफ्ना परियोजनाहरू सञ्चालन गर्दै आएका छन्। तस्नीमका अनुसार आक्रमण बुधबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*