अटो बजारमा सर्वाधिक बिक्री हुँदै टीभीएस ब्रान्डका बाइक र स्कुटर, ६ महिनाको व्यापार साढे ४ अर्ब

५ चैत्र २०८२, बिहीबार १२:०३

काठमाडौँ । टीभीएस ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बेच्ने शंकर ग्रुपअन्तर्गतको जगदम्बा अटो ग्रुपले ६ महिनामा नै झण्डै साढे ४ अर्बको व्यापार गरेको छ । जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८५ करोड रुपैयाँ र २०७९/०८० मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

नेपाल अटोमोबाइल बजारमा पछिल्लो समय टीभिएस ब्रान्ड बाइक र स्कुटर सर्वाधिक रुचाइरहेका छन् । विशेषगरी किफायती मूल्य, आकर्षक डिजाइन, इन्धन दक्षता र विश्वासिलो परफर्मेन्सका कारण नेपाली उपभोक्तामाझ लोभप्रिय हुँदै गएको देखिन्छ । शहरी क्षेत्रदेखि ग्रामीण बजारसम्म यसको पहुँच विस्तार हुँदै जाँदा कम्पनीले आफ्नो बिक्री नेटवर्क र सेवा केन्द्रहरू पनि आक्रामक रूपमा विस्तार गरिरहेको छ । साथै, युवापुस्तालाई लक्षित गर्दै नयाँ–नयाँ मोडल सार्वजनिक गर्नु, आकर्षक फाइनान्सिङ सुविधा र एक्सचेन्ज अफरहरू ल्याउनुजस्ता रणनीतिले टीभीएसको बजार हिस्सा थप बलियो बनाएको देखिन्छ । यही कारण पछिल्लो समय अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्दै टीभीएसले नेपाली अटो बजारमा आफ्नो व्यापार उल्लेखनीय रूपमा वृद्धि गरिरहेको छ ।

सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरू एसेम्बल गर्ने आधिकारिक कम्पनी हो । यस कम्पनीले एसेम्बल गरेका सम्पूर्ण सवारी साधनहरू आफ्नै समूहअन्तर्गत पर्ने जगदम्बा मोटर्सलाई बिक्री गर्छ । कम्पनीका सम्पूर्ण स्वामित्व साहिल अग्रवालको नाममा रहेको छ । अग्रवाल कम्पनीका एकमात्र सेयरधनी तथा निर्देशक पनि हुन् ।

कम्पनीको नाफा समेत उल्लेख्य सुधार भइरहेको देखिएको छ । करपछिको नाफा मार्जिन आर्थिक वर्ष २०८०/०८१ मा ६.०२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७.०९ प्रतिशत र चालु आर्थिक वर्षको ६ महिनासम्ममा आइपुग्दा ८.१५ प्रतिशत पुगेको छ । नगद सञ्चिती चालु आर्थिक वर्षको ६ महिनामा ४० करोड ७० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले एसेम्बलका लागि सवारी साधन तथा पार्टपुर्जाहरू भारतस्थित टीभीएस मोटर कम्पनीबाट मात्र आयात गर्ने गरेको छ । कम्पनीले सरकारको एसेम्बल उद्योग प्रोत्साहन नीतिबाट फाइदा उठाउँदै आइरहेको छ । सरकारले सवारी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ वा स्पेयर पाट्र्समा ५० प्रतिशत एक्साइज कर र २५ प्रतिशत आयात कर छुट प्रदान गरेको छ ।

कम्पनीले ४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ९१ करोड रुपैयाँको रेटिङ गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*