ग्लोबल मनी वीक २०२६: नेपाल बीमा प्राधिकरणद्वारा लगानी र बीमाबारे विद्यार्थीसँग अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२६ को अवसरमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मनी वीक २०२६ अन्तर्गत विद्यार्थी तथा शिक्षकसँग ‘नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार श्री दिब्य एस एस कलेज तीनकुने काठमाडौँमा सम्पन्न भएको हो।
कार्यक्रममा प्राधिकरणका उपनिर्देशक तथा कार्यक्रम संयोजक राजेन्द्र महर्जनले अध्यक्षता गरेका थिए। कलेजका प्रिन्सिपल नारायण काफ्ले प्रमुख अतिथि तथा सहायक प्रिन्सिपल छत्र न्यौपाने विशेष अतिथिका रूपमा सहभागी भएका थिए। साथै, प्रभु इन्स्योरेन्स का डेपुटी सीईओ समीर तामाङ को पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा व्यवस्थापन, कानून तथा विज्ञान संकायअन्तर्गत कक्षा ११ का करिब २०० विद्यार्थीहरूको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम ध्यानपूर्वक सुनेका मात्र नभई अन्तरक्रियात्मक सत्रमा जिज्ञासा राख्दै सक्रिय रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि काफ्लेले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय ज्ञान, बचत गर्ने बानी तथा अनुशासन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बदलिँदो आर्थिक परिवेशमा आर्थिक निर्णय क्षमताको विकास अपरिहार्य भएको उल्लेख गरे। सहायक प्रिन्सिपल न्यौपानेले पनि कार्यक्रमलाई अत्यन्त उपयोगी र ज्ञानवर्धक भएको बताउँदै दैनिक जीवनमा वित्तीय शिक्षाको आवश्यकता झनै बढ्दै गएको धारणा व्यक्त गरे।
यसैगरी, प्रभु इन्स्योरेन्सका डेपुटी सीईओ समीर तामाङले बीमाको महत्वबारे विस्तृत रूपमा चर्चा गर्दै बीमालाई जोखिम न्यूनीकरणको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे। उनले आकस्मिक जोखिमहरूबाट जोगिन तथा जीवन र सम्पत्तिको सुरक्षाका लागि बीमा अनिवार्य रहेको धारणा राखे। उनले बीमालाई केवल औपचारिकता नभई आर्थिक सुरक्षाको महत्वपूर्ण उपकरणका रूपमा बुझ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले ग्लोबल मनी वीकको पृष्ठभूमि, यसको अन्तर्राष्ट्रिय सन्दर्भ, उद्देश्य तथा वित्तीय साक्षरताको आवश्यकता बारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। उनले विशेष गरी बीमाको भूमिका, यसको आवश्यकता तथा दीर्घकालीन आर्थिक सुरक्षामा यसले पुर्याउने योगदानबारे स्पष्ट पारे। साथै, प्राधिकरणका सहायक प्रथम गणेश सुवेदीको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष महर्जनले ‘#SMART MONEY TALKS’ नाराको सान्दर्भिकता प्रष्ट पार्दै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, बचत र लगानीसम्बन्धी सचेतना अपनाउन प्रेरित गरे। उनले सानैदेखि बचत गर्ने बानी विकास गर्नुपर्ने, दैनिक खाजा खर्चबाट समेत सानो–सानो रकम बचत गरी दीर्घकालीन लगानीतर्फ उन्मुख हुनुपर्ने बताए। उनले आईपीओमा लगानी गर्न तथा बैंकमा नियमित निक्षेप राख्न सुझाव दिँदै वित्तीय अनुशासनलाई जीवनशैलीको हिस्सा बनाउन आग्रह गरे।
साथै, अभिभावकहरूलाई जीवन, सम्पत्ति तथा दायित्व बीमा गर्न समेत आग्रह गरे। महर्जनले देशको अर्थतन्त्र सुदृढ बनाउन तीन प्रमुख आधार—नियमित बचत, पुँजी बजारमा लगानी र बीमामार्फत जोखिम व्यवस्थापन—लाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले आगलागी, भूकम्प, बाढी जस्ता प्राकृतिक विपत्तिबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरणका लागि सम्पत्ति तथा सवारी साधन बीमा अपरिहार्य रहेको उल्लेख गर्दै बीमालाई आर्थिक सुरक्षाको बलियो आधार रूपमा प्रयोग गर्नुपर्ने बताए।












