अछाममा महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणको नाममा सरकारी बजेट दुरुपयोग भएको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालबीच मिलेमतो भई करिब १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको हो।
उनीहरूविरुद्ध अभिनेता राजेश हमाल अभिनित फिल्म निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरी अनियमितता गरिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीमाथि गरिएको अनुसन्धानमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ विपरीत प्रक्रिया पूरा नगरी सिधै सम्झौता गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिस्पर्धा नगराई सोझै खरिद प्रक्रिया अपनाइएको, तोकिएको सीमा भन्दा बढी अग्रिम भुक्तानी दिइएको तथा बैंक जमानत नलिई पेश्की उपलब्ध गराइएको देखिएको छ। यस्तै, झुट्टा तथा नक्कली बिलका आधारमा खर्च देखाएर रकम दुरुपयोग गरिएको ठहर गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुख्य प्रतिवादीहरूलाई कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ। साथै, सहयोगी भूमिकामा रहेका रामजी लम्साललाई पनि मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ।
t5QXJ7











