काठमाडौंमा पाँचौं लघुवित्त सदस्य सम्मेलन हुने, युवाको उद्यमशीलता र सदस्य सहभागितामा केन्द्रित

५ चैत्र २०८२, बिहीबार १८:१७

काठमाडौं। काठमाडौंमा चैत ८ र ९ गते पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। सम्मेलनमा लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गरी आगामी रणनीति तय गरिनेछ।

सम्मेलन नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल र स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना हुन लागेको हो। यसमा नियामक निकाय, नीति निर्माता, सरकारी प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, कर्मचारी तथा सेवाग्राही सदस्य गरी ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।

‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित दुई दिनसम्म चल्ने सम्मेलनमा सातवटा सत्र मार्फत लघुवित्तका विविध आयाममा छलफल, अनुभव आदानप्रदान र अन्तरक्रिया गरिनेछ। सत्रमा सदस्यहरूको अनुभव, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर, क्रेडिट प्लस कार्यक्रम, सकारात्मक सोच र तनाव व्यवस्थापन, प्रविधिको प्रयोग, युवा स्वरोजगार तथा थ्री जिरो क्लब, र विकृति नियन्त्रणमा सदस्य र कर्मचारीको भूमिका विषयमा छलफल हुने जनाइएको छ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठका अनुसार, विश्वका १७७ देशमा लघुवित्त कार्यक्रम भए पनि सदस्यहरूको सम्मेलन गर्ने अभ्यास नेपालमै मात्र छ। उनी भन्छन्, ‘सदस्यहरू नै लघुवित्तका अभिन्न अंग हुन्, त्यसैले उनीहरूलाई केन्द्रविन्दुमा राखेर सम्मेलन आयोजना हुँदै आएको हो।’

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई वर्षमा लघुवित्त सदस्य सम्मेलन गर्दै आएको छ। पहिलो सम्मेलन ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित भएको थियो भने दोस्रो ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’, तेस्रो ‘घरघरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ’, र चौथो ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सम्पन्न भएको थियो।

श्रेष्ठले लघुवित्तले महिलाहरूलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको, बालबालिकालाई विद्यालय पठाउन उत्प्रेरित गरेको, र विदेश फर्केका युवालाई ऋण लिएर स्वरोजगार बन्न मद्दत गरेको उदाहरण प्रस्तुत गरे। तर उनले बताए, सरकारले लघुवित्त संस्थालाई ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने होडबाजी बढेको छ। आवश्यकभन्दा बढी ऋण प्रवाह हुँदा विकृति बढेको उनले औंल्याए।

उनले लघुवित्त संस्थाहरू अब युवालाई लक्षित गरेर कार्यक्रम अघि बढाउनुपर्ने बताए। हाल लघुवित्त वित्तीय संस्था तथा सहकारीहरूले देशका ७७ जिल्लामा सेवा प्रदान गर्दै आएका छन्। लघुवित्तले ‘क्रेडिट प्लस’ कार्यक्रममार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

थ्री जिरो अवधारणाअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित युवा क्लबहरू गठन गरिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असोजसम्म ५२ लघुवित्त वित्तीय संस्थाले ५ हजार शाखामार्फत ६२ लाख ८३ हजार सदस्यलाई सेवा प्रदान गरेका छन्, जसमा ९५ प्रतिशत महिला छन्। २७ लाख सदस्यले लघुवित्तबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् र लघुवित्त संस्थाहरूले ४ खर्ब ९५ अर्बभन्दा बढी कर्जा लगानी गरेका छन्। लघुवित्त बाहेक ५० सहकारी संस्थाहरू पनि लघुवित्त सेवा सञ्चालन गर्दै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*