मर्जर र शेयर स्वामित्व परिवर्तनको प्रस्ताव सहित उन्नती सहकार्य लघुवित्तको साधारणसभा आह्वान

६ चैत्र २०८२, शुक्रबार ०७:२४

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ५ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको २५१औं बैठकले यही चैत २८ गते शनिबार रुपन्देहीको भैरहवा सि.न.पा–८ स्थित एशियन बुद्ध होटलमा बिहान १० बजे एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरूलाई गाभ्ने वा संस्थाहरूसंग गाभिने, गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती गर्ने/प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

त्यस्तै संस्थापकतर्फको शेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको शेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव र नियमावलीको परिच्छेद ४ को नियम २९ (२) को संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ। त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ।

साथै संस्थापक समुहका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा १ जना संचालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने तथा बाँकी अवधिको लागि निर्वाचित गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि यही चैत १६ गते १ दिन वित्तीय संस्थाको शेयर दाखिला खारेज बन्द (बूक क्लोज) रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत १५ गतेसम्म कारोबार भई शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू सो सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*