‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरणः साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम सम्पन्न

काठमाडौं । सुरक्षित डिजिटल भविष्य निर्माणमा महिलाको नेतृत्व अपरिहार्य बन्दै गएको सन्दर्भमा क्यान महासंघ अन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेज कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई नेपाल) र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को सहकार्यमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।
“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरणः साइबर सुरक्षा नेतृत्व निर्माण” शीर्षकमा आयोजित कार्यक्रम काठमाडौंको सिफलस्थित टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाहरूको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए। उनले पछिल्लो सामाजिक घटनाक्रमलाई सन्दर्भित गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको शुरुवातमा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका आईटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे र महासचिव चन्द्रविलास भुर्तेलले सूचना प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउनुका साथै नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमको समापनमा सफ्टवेयर एन्ड सर्भिसेज कमिटीकी संयोजक शीला कान्साकार कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, वक्ता र सहभागीप्रति धन्यवाद व्यक्त गरिन्। कार्यक्रम सञ्चालन समितिकी सदस्य अदिप्ति गुप्ताले गरेकी थिइन्।
कार्यक्रममा विभिन्न प्राविधिक विषयमा पनि प्रस्तुति दिइएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले साइबर सुरक्षाको अग्रपंक्तिमा महिलाको भूमिका र सुरक्षित डिजिटल भविष्य निर्माणमा उनीहरूको नेतृत्व आवश्यक रहेको बताइन्।
त्यसैगरी इन्साइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा रोजगारी र करियरका अवसर, चुनौती र महिला सहभागिता बढाउने उपायबारे प्रस्तुति दिए। मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले बदलिंदो साइबर जोखिम, डिजिटल सुरक्षा चुनौती र विविधतायुक्त नेतृत्वको आवश्यकताबारे प्रकाश पारेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजना गरिएको विशेष प्यानल छलफलमा नेपाल बैंक लिमिटेडकी कार्ड एन्ड डिजिटल बैंकिङ डिभिजन हेड बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा र मोना न्याछ्यों श्रेष्ठ सहभागी भएका थिए। छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती र साइबर सुरक्षामा महिलाको भूमिका तथा सम्भावनाबारे विचारविमर्श गरिएको थियो।












