सहकारी पीडितहरूको प्रदर्शन ‘हाम्रो पैसा फिर्ता गर, दोषीलाई कारबाही गर’

काठमाडौँ । काठमाडौंमा सहकारीमा बचत रकम फिर्ता नपरेको विरोधमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सहकारीमा जम्मा गरेको पैसा फिर्ता गर्न र ठगि गर्नेहरूलाई कारबाही गर्न माग गरेका थिए।
प्रदर्शनकारीहरूले ‘ग्याँस छैन, तेल छैन, सहकारीमा पैसा छैन’, ‘सहकारी ठग्नेलाई दण्ड हुने कानुन बनोस्’, ‘पीडितलाई फुटाउने षडयन्त्र नगरियोस्’, ‘बचतकर्ताको पैसा फिर्ता गर’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले विगत ४५ दिनदेखि जारी आन्दोलनका कारण पनि ध्यानाकर्षण गराउन चाहेका थिए।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले नयाँ सरकारले सहकारी पीडितको समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका छन्। उनले रास्वपा सरकारले १०० दिनभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै प्रदर्शनमार्फत आफ्नो मागको ध्यानाकर्षण गराउन आएको बताए।
केसीले अब नयाँ सम्झौता भन्दा पनि पहिले भएको सहमति कार्यान्वयन गरी बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा जोड दिएका छन्।












