विकास निर्माणमा बैंकहरुको सहकार्यः वर्षदिनमा थपियो साढे २० अर्ब लगानी, कुनले कति दिए ऋण ?

काठमाडौँ । लामो समयदेखि सुस्ताएको निर्माण क्षेत्र पुनः चलायमान बन्न थालेको संकेत देखिएको छ । अर्थतन्त्रका प्रमुख सूचकहरू बैंकिङ तरलता, ब्याजदरमा क्रमिक गिरावट र लगानीमैत्री वातावरण सुधारोन्मुख बन्दै जाँदा निर्माण उद्योगमा नयाँ उत्साह देखिन थालेको हो ।
विशेषगरी ठूला पूर्वाधार परियोजनाहरूले गति लिन थालेपछि निर्माण कम्पनीहरूको गतिविधि उल्लेखनीय रूपमा बढेको छ । जलविद्युत् आयोजना, राष्ट्रिय गौरवका सडक परियोजना, पुल निर्माण तथा शहरी क्षेत्रमा बहुप्रतिक्षित भवन निर्माण कार्यहरू अघि बढ्न थालेका छन् । यसले ठप्पजस्तै बनेका निर्माण व्यवसायीहरूलाई पुनः सक्रिय बनाउँदै लगेको छ भने नयाँ परियोजनाहरूको घोषणा र कार्यान्वयनले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
निजी क्षेत्रको लगानीमा आएको वृद्धि पनि निर्माण क्षेत्रको पुनरुत्थानको मुख्य आधार बनेको छ । पछिल्लो समय जलविद्युत्, रियल इस्टेट र औद्योगिक संरचना निर्माणमा निजी लगानीकर्ताहरूको आकर्षण बढ्दो छ । सरकारी नीतिगत सुधार, सहुलियतपूर्ण व्यवस्था तथा लगानीमैत्री वातावरणले निजी क्षेत्रलाई थप प्रोत्साहित गरेको देखिन्छ । यसले निर्माण व्यवसायीहरूको आत्मविश्वास बढाउनुका साथै नयाँ उद्यमीहरूलाई पनि यस क्षेत्रमा आकर्षित गर्न थालेको छ ।
बैंकिङ क्षेत्रबाट ऋण प्रवाहमा आएको सहजताले पनि निर्माण उद्योगलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले ठूला परियोजनामा कर्जा प्रवाह बढाउन थालेका छन्, जसका कारण दीर्घकालीन आयोजना कार्यान्वयनमा सहजता आएको छ । साथै, ब्याजदरमा आएको गिरावटले निर्माण लागत व्यवस्थापनमा सहयोग पुगेको छ, जसले परियोजनाहरू समयमै सम्पन्न हुने सम्भावना बढाएको छ। निर्माण क्षेत्रमा देखिएको यो सकारात्मक गतिशीलताले समग्र अर्थतन्त्रमा पनि चहलपहल बढाएको छ । रोजगारी सिर्जना, निर्माण सामग्रीको मागमा वृद्धि, र आन्तरिक बजारको विस्तारले आर्थिक गतिविधि थप सक्रिय बन्दै गएको छ ।
यसैबीच, बैंकहरू पनि निर्माण क्षेत्रमा कर्जा प्रवाह बढाउन थालिसकेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को ७ महिनामा २० वटा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब २१ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १०.१५ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको ७ महिनासम्ममा बैंकहरुले २ खर्ब १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । वर्षदिनमा मात्रै बैंकहरुले २० अर्ब ४४ करोड रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेका छन् ।
अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने तर ५ बैंकको भने घटेको देखिन्छ । निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा २५ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा लगानी गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.८६ प्रतिशत बढी हो ।
यता, लक्ष्मी सनराइज बैंकले निर्माण क्षेत्रमा कर्जा लगानी २६.४२ प्रतिशतले बढाएर २४ अर्ब ६१ करोड ६० लाख रुपैयाँ पुराएको छ । समिक्षा अवधिमा एनआईसी एशिया बैंकले भने ५.३५ प्रतिशतले निर्माण क्षेत्रका कर्जा प्रवाह घटाएर २१ अर्ब ८७ करोड रुपैयाँ पुराएको हो ।
समिक्षा अवधिमा सिटिजन्स बैंकले निर्माण क्षेत्रमा १८ अर्ब ७३ करोड कर्जा निर्माण क्षेत्रमा प्रभाव गरेको छ । तर, अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३७.६१ प्रतिशतले बढी हो ।
त्यस्तै, निर्माण क्षेत्रमा क्रमशः कुमारी बैंकले १५ अर्ब ३६ करोड, प्रभु बैंकले १५ अर्ब १४ करोड, प्राइम बैंकले १५ अर्ब ४ करोड, कृषि विकास बैंकले १२ अर्ब ६५ करोड, माछापुच्छ्रे बैंकले ११ अर्ब ६४ करोड, ग्लोबल आइएमई बैंकले १० अर्ब ३२ करोड कर्जा प्रवाह गरेका छन् ।
हेर्नुहोस् कुनको कति ?













