चैत १३ गते प्रधानमन्त्रीको शपथ लिंदै बालेन, राम नवमीकै दिन सत्ता हस्तान्तरण

काठमाडौं । प्रतिनिधिसभामा स्पष्ट बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको चरणमा प्रवेश गरेको छ। पार्टीले चैत १३ गतेका दिन वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरेको हो।
चैत १३ गते रामनवमीको दिन बालेनले नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने भएका छन्। राम नवमी हिन्दू परम्परामा भगवान् रामको जन्मोत्सवका रूपमा मनाइने महत्वपूर्ण पर्व हो। यस दिन शुक्ल पक्षको नवमी तिथि (चैते दशैंको नवरात्रि) पर्ने भएकाले धार्मिक रूपमा शुभ, संयम, मर्यादा र धर्मपालनको प्रतीक मानिन्छ। ज्योतिषीय तथा सांस्कृतिक मान्यतामा पनि यस दिनलाई नयाँ जिम्मेवारी आरम्भ, संकल्प, नेतृत्व र शुभ कार्यको थालनीका लागि सकारात्मक दिनको रूपमा हेरिन्छ।
यता संसद् सचिवालयले १२ चैत दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम राखेको छ। त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र त्यसपछि अन्य सांसदहरूलाई शपथ गराउने कार्यतालिका तय गरिएको छ। यही प्रक्रियापछि रास्वपाले संसदीय दलको नेतृत्व टुंग्याउने र त्यसको भोलिपल्ट सरकार गठनतर्फ अघि बढ्ने तयारी गरेको छ।
संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेतालाई सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्छ। नेपालको संविधानको धारा ७६(१) ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ।
रास्वपाभित्र भएको शीर्ष तहको छलफलपछि १३ चैतलाई सरकार गठनका लागि मिति तोकिएको छ। पार्टीका नेताहरूले औपचारिक रूपमा मन्त्रीहरूको नाम सार्वजनिक नगरे पनि सरकार गठनको दिनसम्म मन्त्रिपरिषद्को प्रारम्भिक स्वरूप टुंग्याउने तयारी रहेको बुझिएको छ। पार्टीले चुनावअघि नै बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएको थियो त्यसैले अहिलेको राजनीतिक प्रक्रिया त्यही रेखामा अघि बढिरहेको रास्वपाले जनाएको छ।
यसपटकको निर्वाचनमा रास्वपाले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ जनमत हासिल गरेको छ। यही जनाधारका कारण उसले गठबन्धन बिना नै सरकार गठनको प्रक्रियालाई अघि बढाइरहेको छ। निर्वाचन आयोगबाट अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पुगेपछि सत्ता गठनबारे आन्तरिक गृहकार्यले गति लिइसकेको छ भने अब औपचारिक संवैधानिक प्रक्रिया मात्र बाँकी रहेको छ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सीट र समानुपातिकतर्फ ५७ सीट गरी कुल १८२ सीट जितेको छ भने कांग्रेले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सीट जितेको छ। नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी जम्मा २५ सीट जितेको छ।
यता नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी जम्मा १७ सीट जितेको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी जम्मा ७ सीट र राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सीट जितेको छ। बाँकी १ सीट भने म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेका छन्।












