कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका गरगहना, करिब ३३ हजार रुपैयाँ बराबरका चाँदीका गहना तथा सामग्री, भारतीय रुपैयाँ १० हजार र नेपाली रुपैयाँ ४५ हजार चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।
सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटालाई २०८२ चैत ७ गते राति करिब ९:५० बजे पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट सुन जस्तो देखिने तिलहरी ३ थान, सिक्री १ थान, नेक्लेस, बाला ३ थान, झुम्का १ जोर, नौगेडीमा प्रयोग हुने गोटी ८ थान, जन्तर १ थान, स-साना टुक्रा २५ थान, नाकमा लगाउने फुली १ थान बरामद गरिएको छ। त्यस्तै चाँदी जस्तो देखिने बाला २ थान, सानो थाली १ थान, पाउजु १ जोर, औँठी २ थान, धातुको चुरा २ थान समेत फेला परेको प्रहरीले जनाएको छ।
यसका साथै उनीहरूबाट खुकुरी १ थान, फलामको रड २ थान, करिब २.८ फिट लम्बाइको तरबार १ थान र नगद नेपाली रुपैयाँ २ लाख ४९ हजार समेत बरामद गरिएको छ। चोरी कार्यमा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर १ थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।












