ग्राहकबाट कार्यकक्षमै किन कुटिएका थिए हिमालयन बैंकका ब्रान्च म्यानेजर ?

८ चैत्र २०८२, आईतवार १७:१२

काठमाडौँ । ऋण नदिएको भन्दै एक ग्राहकले हिमालयन बैंकका ब्रान्च म्यानेजरलाई कार्यकक्षमै हातपात गरेको खुलेको छ । बैंकको पाल्पा शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि ऋणको विषयमा विवाद हुँदा एक महिलाले कुटपिट गरेको घटना बाहिरिएको हो ।

घटना २०८२ माघ २५ गते दिउँसो करिब ३ बजे पाल्पाको तानसेन नगरपालिका–२, मेलधारामा रहेको बैंक शाखामा घटेको हो । ४५ वर्षीया मञ्जु रेग्मी ऋण लिन बैंक पुगेकी थिइन् । उनले करिब ४० देखि ४५ लाख रुपैयाँसम्मको ऋण माग गरेकी थिइन् । तर, उनले धितोका रूपमा पेश गरेको ‘गोरेटो बाटोमा पर्ने जग्गा’ बैंकको नीति अनुसार स्वीकार्य नभएको भन्दै ब्रान्च म्यानेजर प्रकाश सुवेदीले ऋण दिन अस्वीकार गरेका थिए ।

रेग्मी यसअघि पनि सोही बैंकबाट ऋण लिईसकेकी थिइन् । सो ऋण केही समयअघि मात्रै पूर्ण रूपमा चुक्ता गरिसकेकी थिइन् । त्यसपछि पुनः ऋणका लागि आवेदन दिँदा धितोको अवस्था कमजोर देखिएको र जोखिम मूल्यांकन गर्दा ऋण प्रवाह गर्न नसकिने निष्कर्षमा बैंक पुगेको थियो । प्रबन्धक सुवेदीले यही जानकारी गराएपछि विवादको सुरुवात भएको बताइएको छ ।

सुरुवातमा सामान्य असन्तुष्टि देखिएकी रेग्मी क्रमशः आक्रोशित बन्दै गइन् । उनले यसअघि पनि आफु बैंकको ग्राहक भइसकेको हुँदा बैंकले आफुलाई लोन दिन सक्नु पर्ने तर्क म्यानेजर सामु राखेकी थिइन् । आफुले यसअघि बैंकबाट लिएको किस्ता नियमित तिरि सकेको हुँदा पुन आफुलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिइन् । तर, शाखा प्रमुखको नियन्त्रणको अस्वीकारपछि उनी आक्रोशित भइन् । सुवेदीमाथि नै हातपातको अवस्था सिर्जना भएको हो ।

केहीबेर बैंकभित्र अफरातफरीको अवस्था सिर्जना भएको थियो । बैंकमा रहेका अन्य सेवाग्राही र बैंक सुरक्षाकर्मीको सहयोगमा उनलाई नियन्त्रणमा लिई कार्यकक्ष बाहिर निकालिएको थियो । घटनापछि ब्रान्च म्यानेजर सुवेदीले आफू माथि भएको व्यवहारलाई गम्भीर रूपमा लिँदै जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दर्ता गराएका थिए ।

उक्त जाहेरी मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत ‘अभद्र व्यवहार’ सम्बन्धी कसूरमा कारबाहीको मागसहित २०८२ माघ २७ गते दर्ता नम्बर १६० मा दर्ता भएको प्रहरीले जनाएको छ । जाहेरी दर्तापछि प्रहरीले रेग्मीमाथि निगरानी बढाएको थियो । अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रबन्धक सुवेदीले आफ्नो दाबी पुष्टि गर्न बैंकका कर्मचारी रमेशराज बज्राचार्यलाई साक्षीका रूपमा प्रस्तुत गरेका छन् । साथै, कार्यकक्षभित्र क्यामरा नभए पनि बाहिरी क्षेत्रमा जडान गरिएको सीसीटीभी फुटेजले घटनाको पुष्टि गर्ने बैंकको दाबी छ । ती फुटेजमा विवादपछिको गतिविधि र रेग्मीलाई बाहिर निकालिएको दृश्य देखिएको छ ।

यद्यपि, रेग्मीले भने बैंकले अन्यायपूर्ण व्यवहार गरेको दाबी गरेकी छिन् । आफूले आवश्यक कागजात र प्रक्रिया पूरा गरे पनि बैंकले ऋण दिन अस्वीकार गरेको बताएकी छिन् । हातपातको विषयलाई पनि उनले सामान्य भनाभन भएको मात्रै जिकिर गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*