नेको इन्स्योरेन्सद्वारा गैर कानुनी रुपमा बीमा पोलिसी जारी

९ चैत्र २०८२, सोमबार १०:३०

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बफर जोन क्षेत्रका किसानलाई लक्षित गरेर गैर कानुनी रुपमा बीमा पोलिसी तयार गरी बिक्री वितरण गरेको पाइएको छ । कम्पनीले बीमाको प्रचलित नियम, कानुनको धज्जी उडाउँदै र नियामक नेपाल बीमा प्राधिकरणलाई समेत चुनौति दिँदै अनाधिकृत रुपमा बफर जोनका किसानको बीमा गर्न पोलिसी जारी गरेको भेटिएको हो ।

नेकोले बीमा प्राधिकरणबाट स्वीकृत गरिएको बीमा पोलिसीमा गैर कानुनी रुपमा संशोधन गरी बीमा पोलिसी संशोधन गरेको जनाइएको छ । नियामक बीमा प्राधिकरणले गरेको छानविनको क्रममा नेको इन्स्योरेन्स कम्पनीले बफरजोन किसानहरुलाई जारी गरेको बीमा पोलिसी गैर कानुनी भएको पाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेको इन्स्योरेन्सले अनाधिकृत रुपमा कृषि बीमा पोलिसी जारी गरेको ठहर गर्दै कम्पनीलाई दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ ।

सो सम्बन्धमा नेको इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ गणेश लम्सालले कुनै प्रतिक्रिया दिन चाहेनन् । उता, सूचना अधिकारी विष्णु धितालले भने बफर जोनका नागरिकहरुको पब्लिक लायबिलिटी बीमा पोलिसी जारी गरेको स्वीकार गर्दै बीमा प्राधिकरणबाट स्वीकृत लिएको समेत दावी गरेका छन् । बीमा प्राधिकरणले किन कारवाही गर्न खोजेको बिषय थाहा नभएको बताए ।

नेको इन्स्योरेन्समा सिईओ अशोक खड्का गैर कानुनी रुपमा सिईओ पदमा बहाल रहँदै आएका छन् । बीमाको सामान्य नियम, कानुन नमान्ने, कसैलाई नटेर्ने र आफूलाई एमालेको नेता भन्दै धाक धम्की दिँदै चन्दा उठाउने कार्यमा संलग्न रहेको आरोप सिईओ खड्का माथि लाग्दै आएको छ । उनी नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

काठमाडौंको सम्पन्न १० औं महाधिवेशनमा ३७४ मत ल्याएर पराजित भएका थिए । यद्यपि यस पटक भने नेको इन्स्योरेन्स कम्पनीका सिईओको एमाले भन्दै देखाउने धाक, धम्की र गुण्डागर्दी शैलीमाथि बीमा प्राधिकरणले कानुन कार्यान्वयन गर्दै कारवाहीको दायरामा ल्याएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*