नेपाली अटो बजारमा टोयोटा ब्रान्डको राज, ६ महिनामा युनाइटेड ट्रेडर्सको व्यापार साढे ३ अर्ब

९ चैत्र २०८२, सोमबार ११:४५

काठमाडौँ। नेपाली अटो बजारमा टोयोटा ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको वैद्य समूहको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ३ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ३ अर्ब ३९ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कारोबार ५ अर्ब ४० करोड २० लाख रुपैयाँ पुगेको थियो भने २०८०/८१ मा ३ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको थियो। अटो बजारमा टोयोटा ब्रान्डका सवारीको माग बढ्दा व्यापारमा समेत सुधार आइरहेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा सञ्चालन नाफा ३२ करोड रुपैयाँ र करपछिको नाफा १८ करोड २० लाख रुपैयाँ जनाएको छ। उच्चस्तरीय स्पोर्ट युटिलिटी सवारीसाधन र व्यावसायिक सवारीसाधनप्रति कायम मागका कारण यो सकारात्मक परिणाम हासिल भएको हो।

कम्पनीको पूँजी संरचना सुदृढ हुँदै आएको छ। ऋण घटाउने र नाफा बढाउने क्रम जारी रहेको छ। आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा कम्पनीको ऋण–पूँजी अनुपात १.०८ गुणा र समग्र ऋण अनुपात १.३१ गुणामा झरेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः १.४१ गुणा र १.८१ गुणा थिए। यस अवधिमा कम्पनीको कुल ऋण १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीले नेपालका प्रमुख शहरहरूमा १० वटा डिलरहरूमार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ। यी शहरहरूमा काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापा रहेका छन्। कम्पनीसँग आफ्नै तीन वटा सोरुम छन्, जसमा एउटा सवारीसाधन बिक्रीका लागि र दुई वटा स्पेयर पाट्र्स बिक्रीका लागि छुट्टयाइएका छन्। त्यस्तै, कम्पनीले आफ्नै दुईवटा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको छ।

नेपालमा सवारीसाधन बजार प्रतिस्पर्धात्मक भए पनि टोयोटा ब्रान्डको विश्वासिलो प्रतिष्ठा र गुणस्तरीय सेवा प्रदायकको रूपमा कम्पनीको उपस्थिति यसलाई मजबुती प्रदान गरेको छ। उच्च माग र ब्रान्डको बलियो पहिचानले कम्पनीलाई दीर्घकालीन रूपमा स्थिर वृद्धि गर्ने अवसर प्रदान गरेको छ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडको स्थापना सन् १९७१ मा स्वर्गीय विजयगजानन्द वैद्यले गरेका थिए। यो समूह सन् १९६७ देखि नै टोयोटा सवारीसाधन, पार्टपुर्जा तथा मर्मत–सम्भार सेवाको व्यापारमा सक्रिय रहेको छ। कम्पनीको स्वामित्व मुख्य रूपमा तीन जना शेयरधनीहरूसँग रहेको छ। यसमा सुरज वैद्यको ६० प्रतिशत, रितु सिंह वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत शेयर रहेको छ।

यूनाइटेड ट्रेडर्सको दीर्घकालीन बैंक सुविधा (लोन) को रेटिङ केयर रेटिङ नेपालले ‘CARE-NP BBB-’ मा संशोधन गरेको छ, जुन अघि ‘CARE-NP BB+’ थियो। यसैगरी, कम्पनीको छोटो अवधिको बैंक सुविधा (सर्ट टर्म लोन) को रेटिङ ‘CARE-NP A3’ मा बढाइएको छ, जुन अघि ‘CARE-NP A4+’ रहेको थियो।  कुल बैंक सुविधा रकम अहिले २,९७३.८३ मिलियन रुपैयाँ पुगेको छ, जुन अघि ३,०२७.७२ मिलियन रुपैयाँ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*