क्रिप्टो कारोबारमा संलग्न तीनजना पक्राउ, १ अर्ब ३६ करोडभन्दा बढी कारोबार

काठमाडौं । अभौतिक मुद्रा अर्थात् क्रिप्टो करेन्सी र हुण्डीसम्बन्धी अवैध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१३ एकान्तकुना बस्दै आएका भारत, पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने बाँके, नेपालगन्ज उपमहानगरपालिका–२० घर भएका ३१ वर्षीय नरेश रेउले तथा ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने सर्लाही, ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भएकी ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।
प्रहरीका अनुसार हुण्डी तथा अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा प्रहरी टोलीले नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। नरेशमाथि प्रारम्भिक सोधपुछ गर्दा उनले दिप्ती पोखरेल र प्रवेश अलीका लागि युएसडिटी खरिद–बिक्री गर्ने गरेको खुलेको प्रहरीले बताएको छ।
त्यसपछि प्रहरीले थप निगरानी र अनुसन्धानलाई अघि बढाउँदै दिप्ती पोखरेललाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहनपुल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउका बेला पोखरेलको साथबाट १५ लाख ३० हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुना क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा प्रवेश अलीले आफ्नो मोबाइल फोनमार्फत बाइनान्स आइडी प्रयोग गरेर हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले बताएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र यस कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता भए नभएको विषयमा पनि खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।












