बजारमा हरियाली कायमैः झण्डै १६ अर्बको कारोबार, मार्केट प्रवेशको समय हो ?

काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा रहेको छ । बजार निरन्तर चार दिन लगातार बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् ।
हालै सम्पन्न निर्वाचनको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिकको मत हासिल गरेपछि राजनीतिक स्थिरताको अपेक्षा बढेको छ । लामो समयदेखि अस्थिर राजनीतिक परिस्थितिले पुँजी बजारमा अनिश्चितता सिर्जना गरेको भए पनि अब स्थायी सरकार गठन हुने सम्भावनाले प्रारम्भिक उत्साह जगाएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजार प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ भने ब्याजदरको न्यून स्तरले पूँजी बजारमा लगानी अनुकूल वातावरण सिर्जना गरेको छ । त्यस्तै, धितोपत्र बोर्डले बजारलाई नियमित र पारदर्शी बनाउन विभिन्न कदम चालेकोले लगानीकर्तामा भरोसा बढेको छ ।
आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरिएको छ । रास्वपाले बहुमत प्राप्त गरेपछि अब कार्यान्वयनमुखी नीति ल्याउनुपर्ने अवस्था आएको छ । युवा वर्गको सक्रिय सहभागिता र घोषणापत्रमा समावेश आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति, बैंकिङ क्षेत्रको लचिलो नीति र न्यून ब्याजदरले दीर्घकालीन बजार वृद्धि सम्भव भएकोले लगानीकर्तामा सकारात्मक भावना बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.९६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

सोमबार १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।












