महासंघ निर्वाचनमा शिवप्रसाद घिमिरे समूहको प्यानल घोषणा, यस्तो छ टिम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा घिमिरे समूहले ‘हामी नै किन?’ भन्ने मूल नारासहित आफ्नो प्रतिबद्धता पत्र र कार्ययोजना सार्वजनिक गरेको हो । कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउने, वस्तुगत संघहरूको भूमिका सुदृढ गर्ने तथा उद्योगी व्यवसायीका साझा मुद्दालाई प्राथमिकतामा राख्ने विषयलाई जोड दिइएको थियो ।
महासंघको ६०औं वार्षिक साधारणसभा आगामी चैत २९ र ३० गते हुने तय भएको छ । उक्त साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन पनि हुने भएकाले महासंघभित्र चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
घिमिरे समूहबाट वस्तुगत महासंघतर्फ सदस्य पदका लागि कृष्णप्रसाद अवाले र विश्वनाथ खनाल ले उम्मेदवारी दिएका छन् ।
कार्यकारिणी सदस्य (वस्तुगत संघतर्फ) का लागि घिमिरे समूहबाट १४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । जसमा अरनिको राजभण्डारी, होमप्रसाद घिमिरे, रविन पुरी, धर्मराज सापकोटा, राजकुमार कार्की, संघर्ष विष्ट, नानिराज घिमिरे, राजेश भक्त श्रेष्ठ, वसन्तचन्द्र मरहट्ठा, धनप्रसाद लामिछाने, रघुनन्दन मारु, एबबहादुर थापामगर, सुनिता नेम्हाफुकी र ध्रुवबहादुर गौतम रहेका छन् ।












