लघुवित्त सम्मेलन सम्पन्न, युवा उद्यमशीलता र हरित वित्तमार्फत आर्थिक रूपान्तरणमा जोड

१० चैत्र २०८२, मंगलवार १०:२७

काठमाडौं । पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ राजधानीमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै लघुवित्त क्षेत्रमार्फत उद्यमशीलता विस्तार र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

घोषणापत्रमा देशको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यसहित लघुवित्त संस्था तथा सहकारीमार्फत विद्यालय तहदेखि नै ‘पढ्दै कमाउँदै’ जस्ता कार्यक्रम सञ्चालन गर्ने, युवालाई आयआर्जन र सीपमूलक तालिम उपलब्ध गराउने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना समेटिएको छ। साथै सदस्यहरूसँगको व्यवहारलाई मर्यादित, पारदर्शी र सम्मानजनक बनाउँदै सेवा प्रवाहलाई अझ जिम्मेवार र सदस्य केन्द्रित बनाइने उल्लेख गरिएको छ।

हरित वित्तीय कार्यक्रममार्फत वातावरणमैत्री समाज निर्माणमा युवा परिचालन गर्ने, ‘तीन शून्य’ अवधारणा—गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन न्यूनीकरण—लाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ। जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै प्रत्येक संस्थाले कम्तीमा एउटा वातावरणमैत्री गाउँ निर्माणमा पहल गर्ने र दिगो उत्पादन प्रणालीलाई प्राथमिकता दिने लक्ष्य राखिएको छ।

त्यसैगरी, डिजिटल प्रविधिको प्रयोगमार्फत लघुवित्त सेवालाई सरल, सुरक्षित र पहुँचयोग्य बनाउने तथा सदस्यहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने योजना अघि सारिएको छ। सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रभाव मूल्यांकन गर्न मापदण्ड विकास गरी नियमित अध्ययन र सुधार प्रक्रिया अपनाइने पनि घोषणापत्रमा उल्लेख छ।

निष्क्रिय सदस्यहरूलाई पुनः सक्रिय बनाउन वित्तीय साक्षरता तथा उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने र विपन्न महिलाहरूलाई कर्जा तथा बचत सेवाबाट वञ्चित गराउने गलत गतिविधिविरुद्ध समुदायस्तरमै सचेतना फैलाइने विषयलाई पनि प्राथमिकता दिइएको छ। साथै लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि संस्था, कर्मचारी र सदस्यहरू सबैले जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्मेलनमा सहभागीहरूले आवश्यकताअनुसार आपसी सहकार्य र संवादमार्फत नीतिगत समस्याको समाधानका लागि सरकार तथा नियामक निकायसँग सामूहिक पहल गर्ने धारणा राखेका छन्। प्रतिनिधिहरूका सुझाव, विज्ञहरूको विश्लेषण तथा महिला उद्यमी र लघुवित्तकर्मीहरूको अनुभवलाई समेटेर घोषणापत्र तयार पारिएको जनाइएको छ।

समापन सत्रमा वक्ताहरूले घोषणापत्र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तले विपन्न वर्गसम्म सेवा पुर्‍याएर सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले वाणिज्य तथा अन्य बैंकहरूको पहुँचभन्दा बाहिर रहेका समुदायमा लघुवित्तले प्रभावकारी सेवा दिएको उल्लेख गर्दै यसको सकारात्मक पक्षसँगै चुनौतीप्रति सजग रहन आग्रह गरे।

अर्का पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जा प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गरे। करिब ५० संस्थामार्फत लाखौँ परिवार समेटिएको यस क्षेत्रमा निष्क्रिय कर्जा दर उल्लेख्य रहेको भन्दै उनले संस्थाहरूले आन्तरिक सुशासन सुदृढ गर्नुपर्नेमा जोड दिए। ऋण प्रवाहमा मात्र सीमित नभई उद्यमशीलता विकास र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*