कोलम्बियामा सैन्य विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको हो।
वायु सेना प्रमुखले उक्त विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्य सवार रहेको जानकारी दिएका छन्। अमेरिकी कम्पनीद्वारा निर्मित उक्त सी–१३० हरक्युलिस विमान सैनिक ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो।
दुर्घटना पुटुमायो प्रान्तअन्तर्गत पुएर्तो लेगुइजामो नजिक भएको हो। घटनापछि उद्धार टोलीलाई तत्काल परिचालन गरिएको छ। कोलम्बियाका रक्षा मन्त्रीले उडानका क्रममा विमानमा आगलागी भएपछि भित्र रहेको गोला–बारुद विस्फोट भएको कारण ठूलो क्षति पुगेको बताएका छन्।
यो दुर्घटना कोलम्बियाली वायु सेनाको पछिल्लो इतिहासकै सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ। दुर्घटनाको विस्तृत कारणबारे भने अनुसन्धान जारी रहेको जनाइएको छ।












