पुँजी बजारमा रौनकः विकास बैंक र हाइड्रोको मूल्यमा उछाल, अब करेक्सन आवश्यक हो ?

काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा छ । बजार लगातार पाँच दिन बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् ।
हालै सम्पन्न निर्वाचनको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिकको मत हासिल गरेपछि राजनीतिक स्थिरताको अपेक्षा बढेको छ । लामो समयदेखि अस्थिर राजनीतिक परिस्थितिले पुँजी बजारमा अनिश्चितता सिर्जना गरेको भए पनि अब स्थायी सरकार गठन हुने सम्भावनाले प्रारम्भिक उत्साह जगाएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजार प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ भने ब्याजदरको न्यून स्तरले पूँजी बजारमा लगानी अनुकूल वातावरण सिर्जना गरेको छ । त्यस्तै, धितोपत्र बोर्डले बजारलाई नियमित र पारदर्शी बनाउन विभिन्न कदम चालेकोले लगानीकर्तामा भरोसा बढेको छ ।
आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरिएको छ। युवा वर्गको सक्रिय सहभागिता र घोषणापत्रमा समावेश आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति, बैंकिङ क्षेत्रको लचिलो नीति र न्यून ब्याजदरले दीर्घकालीन बजार वृद्धि सम्भव भएकोले लगानीकर्तामा सकारात्मक भावना बढेको छ ।
कारोबार रकम पनि निरन्तर बढी रहेको छ। तर, जानकारहरूले अब बजारमा करेक्सन आवश्यक रहेको बताइरहेका छन् । करेक्सन बिना बजार अगाडि बढे दिगो नहुने उनीहरुको भनाई छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २९६०.४० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.३८ प्रतिशत, हाइड्रो समूहको १.३२ प्रतिशत, वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













