रिज लाइन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड १ करोड १८ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले दुई चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरी अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन १४ गते बाँडफाँट गरेको थियो । आईपीओ बाँडफाँट भएको करिब एक महिनामा कम्पनीको शेयर सूचीकरण भएको हो । चैत ११ गते कम्पनीको शेयर आरएलइएल स्टक संकेतबाट नेप्सेमा सूचीकृत भएको हो ।
कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फ कुल २६ लाख ७ हजार कित्ता र संस्थापक तर्फ ९२ लाख ९३ हजार कित्ता रहेको छ । सर्वसाधारण तर्फको वैदेशिक रोजगारीमा रहेका नेपाली र थप सर्वसाधारणमा बाँडफाँट भएको शेयर मात्र चैत १२ गतेदेखि कारोबारमा आउनेछ । बाँकी शेयर भने लकइनमा रहनेछ । सामूहिक लगानीकोष तर्फको शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म र संस्थापक , आयोजना प्रभावित स्थानीय र कर्मचारीमा जारी भएको शेयर तीन वर्षसम्म लकइनमा रहनेछन् ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको छ । तेप्सेले तोकेको खुलामूल्यका आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
सर्वसाधारणतर्फको शेयरमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीयतर्फ , १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीतर्फ , २८ हजार ४४० कित्ता शेयर कर्मचारीतर्फ ,७१ हजार १०० कित्ता सामूहिक लगानी कोषतर्फ र ११ लाख ८० हजार २६० कित्ता थप सर्वसाधारणतर्फको स्वामित्वमा रहेको छ ।
कम्पनीले ९ दशमलव शून्य ५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको हो ।












