वैदेशिक रोजगारीमा रहेकाले स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन

१२ चैत्र २०८२, बिहीबार ०७:३९

काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ भर्ने आज चैत १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको हो। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरिरहेको छ।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितले आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावितले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*