आत्मनिर्भर लघुवित्तले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

१२ चैत्र २०८२, बिहीबार ०९:४०

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै वैशाख ७ गते सोमबार दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल मालाइनमा सातौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी साधारणसभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २६ गते बिहीबारका दिन शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ। तसर्थ बूक क्लोजको आधारमा चैत २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*