खाडीमा महाबिनाशकारी युद्धको तयारी, वार्ता गर्ने अमेरिकी प्रस्ताव इरानाद्वारा ठाडै अस्वीकार

१२ चैत्र २०८२, बिहीबार १०:३३

एजेन्सीहरु । पश्चिम एसियामा भिषण र अहिलेसम्मकै खतरनाक युद्धको बादल मडारिन पुगेको छ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हाले लगत्तै युक्रेनका राष्ट्रपति जेलेनेस्कीलाई विश्वयुद्ध निम्त्याउन खोजेको भन्दै हपारेका थिए तर आज उनै ट्रम्पका कारण तेस्रो विश्वयुद्धको संघारमा विश्व उभिन पुगेको छ ।

खाडी क्षेत्रमा चारैतिरबाट इरानलाई घेरेर बसेको अमेरिकी सेनाले अकल्पिनीय क्षति व्यहोरिरहेको छ भने इरानमाथि गरिएको भिषण हमलाहरुमा एक हजार पाँच सय भन्दा बढिको ज्यान गइसकेको छ भने करिब ११ हजार मानिस घाइते भएका छन् । इरानले गरेको प्रत्याक्रमणमा इजरायलमा करिब पाँच हजार मानिस घाइते भइसकेका छन् भने दर्जन बढिको ज्यान गइसकेको छ ।

युद्धमा सबैभन्दा ठूलो आक्रमणको सामना अमेरिकाले गर्नु परेको छ । अमेरिकाले कुवेत, इजरायल, इराक, ओमान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र जोर्डनमा रहेको अमेरिकी सैनिक अड्डाहरुमा इरानको कडा प्रहार सामना गर्नुपरेको छ । जसमा विश्वकै सबैभन्दा शक्तिशाली राडार सिष्टम ध्वस्त भइसकेको छ भने प्रतिरक्षा प्रणाली कमजोर हुँदै गएको अवस्था छ ।

चर्को तनावका बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सेनाका प्रमुख सैयर असिम मुनिरमार्फत १५ बुँदे शान्ति वार्ता प्रस्ताव पठाएका थिए । तर, इरानले अमेरिकी शान्ति वार्ता प्रस्तावलाई ठाडै अस्वीकार गर्दै अमेरिकाले सुरु गरेको युद्धको अन्त्य कहिले र कसरी गर्ने भन्ने निर्णय इरानले गर्नेछ भन्ने कडा झापडसहितको जवाफ फर्काएपछि परिस्थतिले नयाँ मोड मात्रै लिएको छैन पश्च्मि एसिया अर्थात मध्यपूर्व महाबिनाश युद्धको संघारमा उभिन पुगेको छ ।
आणविक शक्ति सम्पन्न राष्ट्र अमेरिका र इजरायलसँग आणविक हतियार उत्पादन गर्ने तयारी गर्दै गरेको इरान युद्धमा छ । मूल नेतृत्व, सैन्य रणनीतिक योजनाकार समेत गुमाएर दोस्रो तहमा सीमित भएको इरानले अमेरिकालाई कडा कुटनीतिक चुनौति दिएसँगै युद्धले नयाँ मोड लिएको छ । इरानी सरकार र नेतृत्व मृत्यु वा अमेरिकामाथि बिजय एक रोज्ने दिशामा अघि बढिसकेका छन् । जसले मध्यपूर्वमा तत्काल शान्ति र युद्धविराम सम्भव देखिदैन ।

यसअघि अफगानिस्तानसँग छद्म युद्ध लडिसकेको इरानले अहिले सिधा सिधा अमेरिकी सेनालाई लल्कारिरहेको दृष्यले विश्व जगत आश्चर्यमा परिरहेको छ । इरानको उच्च मनोबलका सामु युरोप र नेटोले खुलेर अमेरिकाको समर्थन गर्न सकिरहेका छैनन् । सम्भवतः यही रणनीति इरानले बुझेरै होला, एक्लिएको अमेरिकासँग घनघोर युद्ध गर्न चाहिरहेको छ । अन्तर्राष्ट्रिय अध्ययनका ज्ञाताहरुले इरानले अमेरिकासँग युद्ध गर्न कैयौं बर्षदेखि कुरेर बसिरहेको थियो । खामेनीले ८६ बर्षको उमेरमा इरानी जनताको काँधमा अमेरिकामाथि बिजय हात पार्ने दायित्व सुम्पेर विदा भएका छन् ।

यदि अमेरिकाले खामेनीको हत्या नगरेको हुन्थ्यो भने पनि प्राकृतिक रुपमा उनको निधनले हुन्थ्यो, नयाँ नेतृत्वसँग अमेरिकाले नयाँ आधारमा, नयाँ परिस्थिति अनुरुप नयाँ सम्झौता वा वार्ताको माध्यमबाट समस्याको दीगो निकास निकाल्न सक्दथ्यो । तर, अमेरिकाले आत्मघाती बाटो समात्यो जसको परिणाम सिंगो विश्वले भोग्नुपर्ने अवस्था आएको छ । आज सिंगो अमेरिकाभरि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गालीको बर्षा भइरहेको छ । अढाई डलरमा पाइरहेको ग्याँस अहिले साँढे पाँच डलर माथि पुगेपछि हरेक इन्धन स्टेशनमा ट्रम्पमाथि गालीको बर्षा सुनिन्छ । अब युद्धको असर जब विश्वभर पर्न थाल्छ, त्यो गाली अमेरिकाबाट फैलिएर विश्वभर गुञ्जनेछ ।

इरानले युद्धमा भौतिक र मानवीय रुपमा ठूलो क्षति व्यहोरे पनि त्यसको हजारौं गुणा बढी अमेरिकी नैतिकता, विश्वास र व्यवहारिकता विश्व बजारमा लिलाम भइरहेको छ । जति दिन युद्ध लम्बिन्छ यो युद्धको असर र सिंगो दोष केवल अमेरिका र इजरायलमाथि जानेछ । सोही कारण अहिले मध्यपूर्वका देशहरुले इरानले दैनिक मिसाइल आक्रमण गर्दा समेत चुइक्क बोल्न सकेका छैनन् । जारी युद्धबाट अमेरिकी सेना पालेर बस्ने मध्यपूर्वका देशहरुलाई ठूलो नैतिक, कुटनीतिक पाठ मात्रै भएको छैन, अमेरिकी सेना पाल्नु भनेको गम्भिर सुरक्षा खतरा र चुनौति हो भन्ने तथ्य सिद्ध हुन आइपुगेको छ । यो शिक्षा इरानको लागि एउटा ऐतिहासिक जीत पनि हो ।

अहिलेको युद्धमा अमेरिकाले इरानका सैनिक उच्च अधिकारीको हत्या गरेर, विद्यालयमा आक्रमण गरेर क्रुर अमानवीयता दर्शाएर विश्वका जनताको मनमा नराम्रो छाप पारिरहेको छ भने इरानले पिन प्वाईन्ट टार्गेट, सैनिक अखडामा निशाना बनाएर नैकित युद्ध लडिरहेको छ । एसिया, युरोप र अन्य पश्चिमा देश, जापान समेतलाई लागेको थियो कि इरान आतंकवादलाई सहयोग गर्छ, तर जारी युद्धमा इरानले गरेको आक्रमण, उसले देखाएको उच्च नैतिकताका सामू युरोपेली, नेटो समेतले अमेरिकाको साथ दिन सकिरहेका छैनन् ।

इरानी नेतृत्वलाई थाहा छ, यो युद्ध नैतिक युद्ध हो । युद्धमा सर्वसाधारण, महिला, बालबालिकालाई कम क्षति पुर्याएर साथै गैर सैनिक निशानाहरुमा हमला नगरेर उसले तेस्रो विश्वको मन जित्ने प्रयास गरिरहेको छ ।

इजरायल र अमेरिकी संयुक्त सेना इरान प्रवेश गरेपछि हुने विशाल युद्ध, अबको चरणमा प्रयोग हुने नयाँ हतियारहरुले पश्चिम एसियाको युद्ध अब भयानक मोडमा पुग्ने देखिन आएको छ । अहिलेसम्म तर्साउने र थर्काउने तहमा रहेको युद्ध अब सिध्याउने चरणमा प्रवेश गरेको छ । इरानका कैयौं संरचनाहरुमाथि अमेरिका र इजरायलले भिषण हमला मात्रै गर्ने छैनन्, युद्धउन्मादले मात्तिएर सिंगो बस्ती खरानी नै बनाउन सक्नेछन् । त्यस्तै, इरानले पनि अमेरिकी सैनिक अड्डाहरुमा हमलाको क्रममा खाडी मुलुकहरु पनि भिषण युद्धको चपेटामा पर्ने निश्चित देखिन आएको छ ।

खाडीमा रहेको करिब १९ लाख नेपालीहरुको जीवन रक्षा, उनीको सुरक्षा र उद्धारको बिषयमा सरकारले तत्कालै ठोस कार्ययोजना बनाउन ढिलाई गर्नु हुँदैन । युद्धको कुनै रुप, आकार र सीमा हुँदैन । त्यसैले आफना् नागरिकको उद्धार तथा सुरक्षाको बिषयमा नेपाल सरकारले तत्कालै एक्सन सुरु गर्नुपर्नेछ । सुरक्षा भनेर त्यो महाबिनासकारी युद्धस्थलमा नेपालले कुनै भूमिका निर्वाह गर्न त सक्दैन तर आफ्ना नागरिक सकुशल फिर्ता ल्याएर क्षति घटाउन सक्नेतर्फ नेपालका परराष्ट्र विज्ञहरु पनि बोल्ने बेला भयो कि ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*