कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार कोषका सञ्चयकर्ताहरूको खातामा करिव ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव १० करोड ५५ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको छ ।
कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १ प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।
कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाको करिव ९० प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा को रुपमा सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र वाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरुमा राख्ने गर्दछ । यस्ता कोषहरुमा रहेको रकम आवश्यकता अनुसार सञ्चयकर्ताको हितमा खर्च हुने गर्दछ ।
कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट ५.७५ प्रतिशत व्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् । यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ४.२५ प्रतिशत ब्याजदरमा मुनाफा १ प्रतिशत समेत जोड्दा जम्मा ५.२५ प्रतिशत हुने र विशेष सापटीको व्याजदर ५.७५ प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल भन्दा तिर्नुपर्ने ब्याज ०.५० प्रतिशत मात्र बढी रहन गएको छ ।
कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ । साथै सञ्चयकर्ता र योगदानकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।
यस अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी तथा शिशु स्याहार सुविधा वापत १९ हजार १११ जना सञ्चयकर्तालाई करिव १४ करोड ३४ लाख रुपैयाँ, काजकिरिया अनुदान वापत ६०५ जनालाई करिव २ करोड ४२ लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्ति वापत १७० जनालाई करिव ३ करोड ३९ लाख रुपैयाँ, स्वास्थ्य उपचार सोधभर्ना वापत ५ हजार ३५५ जनालाई ३४ करोड रुपैयाँ र विशेष आर्थिक सुविधा वापत निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई करिव १ करोड ७३ लाख रुपैयाँ प्रदान गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ९६ हजारको सङ्ख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।












