बालेनलाई पाथिभरा काण्डको छानविनबाट कार्य प्रारम्भ गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौं । भोलि शुक्रबार शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने तयारी गरेका नयाँ प्रधानमन्त्री बालेन शाहलाई पाथिभरामा निर्माणाधिन केवलकार घोटाला काण्डको छानविन गर्ने सम्बन्धमा पहिलो निर्णय गर्न माग गर्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दर्ता नं. ४७०८ को निवेदनमा प्रधानमन्त्री बन्न लाग्नु भएका बालेन शाहले भ्रष्टाचार, सुशासनको पक्षमा उभिँदै विगतमा कांग्रेस–एमालेको सत्ताले माफिया र दलालहरुसँग मिलेर गरेको घोटाला काण्डको रुपमा चर्चित पाथिभरा केवलकार काण्डको छानविन गर्ने बिषयमा पहिलो निर्णय गर्न माग गरिएको छ ।
आज दर्ता गरिएको पत्रमा गत वर्षको माघ १२ र १३ गते नो केवलकार अभियान्ताहरुमाथि राज्यपक्षबाट भएको बल प्रयोग, गोली प्रहार गरिएको घटनाका दोषीहरुलाई कानुनी कारवाही गर्ने बिषय विगतका सत्ताले माफियासँग मिलेर राज्यसत्तामाथि गरेको दोहन र जनतामाथि गरेको दमनका घटनाहरुको छानविनसँग जोडेर उक्त निर्णय गर्न माग गरिएको हो ।

गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हासिल गर्दै भोलिबाट सरकारको नेतृत्व सम्हाल्ने तयारी भइरहेको बेला उक्त पत्र दर्ता भएको हो । रास्वपाले बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने एजेण्डासहित चुनावी मैदानमा होमिएर अभूतपूर्व जनमत हासिल गरेको थियो । सो जनमत अनुसार भोलि बालेन शाह मुलुकको कार्यकारी प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । प्रधानमन्त्रीका रुपमा भोलि नै बालेन शाहले राष्ट्रपतिबाट शपथ लिएर भोलि नै सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।
के हो पाथिभरा घोटाला काण्ड ?
ताप्लेजुङ्की प्रख्यात पाथिभरा देवीको मन्दिरमा जानको लागि हाल तल्लो फेदिबाट करिब छ किमी पैदल यात्रा गर्नुपर्दछ । सो क्षेत्रमा पाथिभरा देवी दर्शन केवलकार प्रा.लि.को नामबाट केवलकार र अत्याधुनिक होटल निर्माण गर्न लागिएको हो । निजि क्षेत्रबाट निर्माण गर्न थालिएको उक्त केवलकार मन्दिरमा आउने दर्शनार्थीहरुलाई बढी शुल्क लिएर ठगी गर्न निर्माण गर्न लागिएको, मुक्कुम्लुङ सभ्यतामाथि अतिक्रमण गर्दै जोखिमपूर्ण अवस्थामा रहेको पहाडमा वन र पर्यावरण विनास गरेर केवलकार बनाउन लागिएको, मुक्कुम्लुङ सभ्यतामाथि अतिक्रमण हुने गरी होटल तथा रिसोर्ट स्थापना गर्न लागिएको भन्दै स्थानीयबासी मात्रै नभएर पूर्वी क्षेत्रका र विश्वभर फैलिएका सभ्यताप्रेमीहरुले चर्को विरोध गर्दै आएका छन् ।
तत्कालिन केपी ओली सरकारले सुरक्षाकर्मी लगाएर बल प्रयोग गरी निहत्या नागरिकको हत्या गर्ने उद्देश्यले छातीमा गोली हानेर घाइते बनाउँदै सो स्थानमा केवलकार निर्माण सुरु गरिएको थियो ।
जग्गा प्राप्तिदेखि पाथिभरामा केवलकार र होटल निर्माणको लागि सरकारी जमिन दिने निर्णय भएको थियो । सो कार्यमा सत्तामा बसेर दोहन गर्ने र जग्गा खरिद बिक्रीमा प्र्रत्यक्ष सहभागी भएका पूर्व मन्त्री तथा एमालेका नेता योगेश भट्टराईको समेत संलग्नतामा सो काण्ड मच्चाइएको हो । प्रतिरोपनी ९० हजारमा किनिएको जग्गा प्रतिरोपनी ९० लाखमा बिक्री गरेर करोडौं रुपैयाँ कांग्रेस र एमालेका नेताहरुले बाँडेर खाएका थिए । सरकारी जग्गा त्यसरी कम्पनीलाई दिँदा समेत आवश्यक कानुनी प्रक्रिया पुरा नगरिएको अर्को बिषय पनि उत्तिकै जटिल छ ।

त्यस्तै, पाथिभरामा काटिएको लालिगुराँसको सम्बन्धमा हालसम्म कुनै पनि छानविन भएको छैन । राष्ट्रिय फूल लालिगुराँस काट्ने कार्यमा संलग्न कम्पनीका जिम्मेवारी पदाधिकारी तथा मुख्य सञ्चालकहरुका विरुद्धमा वातावरण बिनाश र वन सम्पदा सम्बन्धी विनास गरेकोले वन ऐन बमोजिम कारवाही हुनुपर्ने स्थानीयको माग छ ।
उक्त विवादित पाथिभरा देवी दर्शन केवलकार प्रालिलाई ऋण दिने बैंकमाथि समेत कारवाही हुनुपर्ने माग उठेको छ । उक्त परियोजना विवादित भन्ने थाहा हुँदा हुँदै, जान्दा जान्दै नेपालको एक प्रतिष्ठित बैंकले अर्बौ रुपैयाँ ऋण दिएर व्यापारीलाई स्थानीयबासीमाथि दमन गरेर परियोजना अघि बढाउन प्रेरित गरेको सम्बन्धमा पनि छानविन हुनुपर्ने माग छ ।
केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते












