बिचौलियासँग मिलेर अधिकृतले खाए घुस

१२ चैत्र २०८२, बिहीबार १५:५५

काठमाडौं । यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवालले बिचौलियासँग मिलेर घुस खाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारले उनीहरू दुबैलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।

अधिकृत भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनका लागि बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलमार्फत सेवाग्राहीसँग घुस बार्गेनिङ गर्न लगाएका थिए। अधिकृतले बिचौलिया मार्फत घुस मागेपछि सेवाग्राहीले साझौ अख्तियारमा गएर उजूरी दिएका थिए। उजूरी प्राप्त भएपछि अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएर गएको टोलीले बिचौलिया खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) गर्ने भनिएका खगेन्द्र पौडेल समेतको आपसी मिलेमतो तथा योजनामा सवारी सरुवा सहमति दिनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी बार्गेनिङ गरी गराई ११ हजार ५०० घुस/रिसवत रकम लिन सहमति भई प्रतिवादीहरू अमृत भेटुवाल र खगेन्द्र पौडेलको पूर्वयोजना तथा सहमति बमोजिम घस/रिसवत लिएको स्थापित भएको आरोपपत्रमा उल्लेख छ।

प्रतिवादी अमृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ११ हजार ५०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायको माग गरिएको छ। प्रतिवादी खगेन्द्र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम बिगो ११ हजार ५०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*