मार्जिन सुविधा कार्यान्वयनमा ल्याउने तयारीमा नेप्से

१२ चैत्र २०८२, बिहीबार १८:२७

काठमाडौं । नेप्सेले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया ल्याएको छ । नेप्से सञ्चालक समितिले बुधबार स्वीकृत गरेसँगै मार्जिन सुविधा केही दिनमै कार्यान्वयनमा आउने भएको छ ।

नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको छ भने धितोपत्र दलाल कम्पनीले पनि आन्तरिक कार्यप्रक्रिया तयार गरिसकेका छन् । धितोपत्र दलाल कम्पनीले कारोबार व्यवस्थापन प्रणाली र ब्रोकर डेटा ब्याकअप स्टोरेजका लागि कार्यालयमा तयारी पूरा गर्नासाथ काम सुरु हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । नेप्सेको कारोबार प्रणालीमा केही गर्न नपर्ने भएपनि ब्रोकर कम्पनीको तर्फबाट प्रविधिमा केही थपघट गर्नु पर्ने भएकाले केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

धितोपत्र बोर्डको मार्जिन कारोबार सुविधा निर्देशिका २०८२ अनुसार नेप्सेले लगानीकर्ता पहिचान तथा शाख परीक्षण, मार्जिन कल गर्ने विधि, अवधि तथा सेयर बिक्री सम्बन्धी व्यवस्था गर्दै कार्यप्रक्रिया तयार गरेको हो । नेप्सेको कार्यप्रक्रियामा आवश्यक कागजात सम्बन्धी विवरण, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच गरिने सम्झौताको ढाँचा, मार्जिन कारोबार राफसाफ तथा फर्स्यौट सम्बन्धी व्यवस्था, लगानीकर्ताले मार्जिन कारोबार सुविधा अन्तर्गत लिएको रकम भुक्तान गर्दा अपनाइने विधिलाई समेत स्पष्ट पारिएको छ ।

त्यसैगरी नेप्सेले कार्यप्रक्रियामा मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधिकरण गर्न अपनाउनु पर्ने नीतिको समेत व्यवस्था रहेको पराजुलीले बताए । नेप्सेको मार्जिन कारोबार प्रक्रिया २०८२ अनुसार यो सुविधा उपलब्ध गराउन दलाल व्यवसायीले नेप्सेबाट अनुमति लिनुपर्छ । यस्तो सेवा प्रदान गर्ने सम्बन्धमा ब्रोकरको सञ्चालक समितिले गरेको निर्णयलाई निवेदन साथ संलग्न गर्नु पर्ने कार्यप्रक्रियामा उल्लेख छ ।

कारोबार सदस्यबाट प्राप्त निवेदन तथा कागजात जाँचबुझपछि नेप्सेले मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमतिपत्र प्रदान गर्न सक्छ । सोको जानकारी धितोपत्र बोर्डलाई पनि गराउनु पर्नेछ । कारोबार सदस्यबाट प्राप्त निवेदन तथा कागजात जाँचबुझ पश्चात रीतपूर्वक नदेखिएमा नेप्सेले अनुमतिपत्र प्रदान गर्ने छैन । तर अनुमतिपत्र दिन नसकेको कारणसहित सम्बन्धित कारोबार सदस्यलाई जानकारी दिनुपर्ने व्यवस्था कार्यप्रक्रियामा छ । सदस्यले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र अनुमति पत्र नवीकरण गर्नु पर्ने व्यवस्था उल्लेख छ ।

नेप्सेले तोकेका कम्पनीको सेयर किनबेच गर्न मात्रै ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिनु पर्नेछ । त्यसका लागि तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा पच्चीस लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तिमा दुई वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्कासनपश्चात सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीमा मात्रै यो सुविधा पाइने व्यवस्था कार्यप्रक्रियामा छ ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्नका लागि कारोबार सदस्य समक्ष मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्नेछ । मार्जिन खाता अन्तर्गत रहेका सेयरमा सूचीकृत संगठित संस्थाको विशेष वा साधारणसभाले हकप्रद सेयर जारी गर्ने भएमा कारोबार सदस्य ९ब्रोकर०ले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रको लागि छुट्टै सम्भार मार्जिन तोक्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*