बालेनलाई ठूला २२ काण्डको फाइल खोल्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । झापाबाट निर्वाचित भई आजै प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालने) लाई जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले चर्चित र ठूला २२ काण्डको फाइल खोल्न आग्रह गरेका छन्।
उनले आज केवल राम नवमी मात्र नभई नेपालको लागि एउटा आशा बोकेको दिन पनि भएको र एक युवा प्रधानमन्त्री आगमनसँगै देशमा परिवर्तनको आशा पलाएको बताएका छन्। “मलाई आज २०७६ साल जेठ १५ र असोज ११ गतेका ती दिनहरू सम्झना भइरहेका छन्, जब मैले भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा सुर्खेत र चितवनमा ममाथि ज्यानै जाने गरी हमला भएको थियो।” उनले लेखेका छन्।
उनले आफूले संसदको सदस्यको रूपमा करीब साढे दुई वर्षसम्म भ्रष्टाचार विरुद्ध चिच्याउँदा घाँटी नै दुखेको तर कार्यान्वयन भने हुन नसकेको बताएका छन्। उनले आज आएर फेरि आशा जागेको बताउँदै भ्रष्टाचारीहरू कारबाहीमा पर्ने र निर्मला पन्तका हत्याराहरू पक्राउ पर्ने भन्दै २२ चर्चित ठूला भ्रष्टाचार र घोटाला काण्डको सूची नै सार्वजनिक गरेर त्यसका मुख्य दोषीहरूलाई कानूनी कटघरामा देख्न चाहेको बताएका छन्।
उनले बालेनलाई लाउडा जहाज भ्रष्टाचार, वाइडबडी जहाज खरीद प्रकरण, सुडान घोटाला, लडाकू शिविर अनियमितता, ललिता निवास जग्गा प्रकरण, पतञ्जली जग्गा प्रकरण, गिरीबन्धु टी–स्टेट, टीकापुर जग्गा घोटाला, लिचीबगान जग्गा प्रकरण, बालमन्दिर र बाँसबारी जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, भिजिट भिसा प्रकरण, ओम्नी औषधि खरीद प्रकरण, नेपाल ट्रस्टको जग्गा प्रकरण, ३३ किलो र ६० किलो सुन तस्करी, सहकारी ठगी, सेक्युरिटी प्रेस खरीद (७० करोड), टेरामक्स प्रकरण, अन्तःशुल्क स्टिकर प्रकरण, मेलम्ची आयोजना र एनसेल प्रकरणमा निष्पक्ष छानबिन र दोषिलाई सजायको माग गरेका छन्।
उनले आफू ७ वर्षअघि सडकमा उत्रिएर यही सपना बोकेर संघर्ष गरिरहेको र आज भाबी प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा अपराधीहरूलाई कारबाही हुन्छ भन्ने आशा गरेको प्रतिक्रिया दिएका छन्। उनले बालेनलाई भगवान राम जस्तै सत्य र न्यायको मार्गमा हिंड्न प्रेरित गर्दै सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्न सुझाव दिएका छन्।












