नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि आजै शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए।
प्रधानमन्त्री बालेनले स्वयं रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयतामा रहेका सुधन गुरुङ गृह मन्त्रालयको नेतृत्वमा रहेका छन्। शिशिर खनाल परराष्ट्र मन्त्रालय सम्हाल्ने भएका छन्।
सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्वमा रहेका छन्। खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्रालय सम्हाल्ने भएका छन्। सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। विक्रम तिमिल्सिना सञ्चार मन्त्रालय सम्हाल्ने भएका छन्। सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल जिम्मेवार बनेकी छन्। दीपक साह (महोत्तरी) श्रम मन्त्रालय सम्हाल्ने भएका छन् भने सोविता गौतम कानुन मन्त्रालयको नेतृत्वमा रहेका छन्। सीता वादी महिला, बालबालिका मन्त्रालयको मन्त्री बनेकी छन्।












