उर्जा मन्त्रालयको जिम्मेवारीमा गएका विराजभक्त श्रेष्ठ को हुन् ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विराजभक्त श्रेष्ठ यसपटक नेपालको ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका श्रेष्ठ २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए। उनले विगतमा युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए।
श्रेष्ठ वाणिज्य तथा व्यापार प्रशासनमा स्नातक तहको अध्ययन गरेका छन्। उनी उज्ज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टीमा सक्रिय रहेर काठमाडौं महानगर क्षेत्रमा पार्टीको संगठन विस्तारमा संलग्न थिए। विभिन्न राजनीतिक र सांस्कृतिक अभियानमा पनि उनको सक्रियता रहिआएको छ।
श्रेष्ठ जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीका ज्वाइँ हुन्।
व्यवसाय र अस्पताल व्यवस्थापनमा पनि उनको अनुभव छ। उनले तिकिझ्या रेस्टुरेन्ट, मुनस्टे लज, लिटल विंग्ज लज, ग्रीन भेन्चर्ज प्रालि र बर्दिबास होप हस्पिटल लगायत संस्थाहरूमा आबद्ध भई जिम्मेवारी सम्हालेका छन्। यससँगै ऊर्जा मन्त्रालयको नेतृत्वको जिम्मेवारीले उनलाई राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा चुनौती र अवसर दिइरहेको छ।












