नकारात्मक निगरानीबाट बाहिरिँदै जीवन विकास लघुवित्तको रेटिङ यथावत्

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले संस्थाको इश्यूअर रेटिङ डबल बी कायम राख्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट हटाएको जनाएको हो।
रेटिङ एजेन्सीका अनुसार यस श्रेणीमा पर्ने संस्थाहरूमा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहने आकलन गरिन्छ। यससँगै संस्थाको समग्र क्रेडिट योग्यताप्रतिको विश्वास कायम रहेको संकेत समेत दिइएको छ।
यसअघि संस्थालाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ अर्थात् नकारात्मक संकेतसहितको निगरानीमा राखिएको थियो। तर पछिल्लो मूल्याङ्कनपछि उक्त अवस्था हटाइएको छ, जसले संस्थाको जोखिम अवस्था केही स्थिर बन्दै गएको देखाउँछ।
रेटिङ एजेन्सीले यस्तो मूल्याङ्कन कुनै विशेष ऋण उपकरणका लागि नभई संस्थाको समग्र वित्तीय क्षमता र दायित्व वहन क्षमताको आधारमा गरिएको स्पष्ट पारेको छ। लघुवित्त क्षेत्रमा सक्रिय जीवन विकास लघुवित्तले ग्रामीण तथा विपन्न वर्गमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ।












