अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पुँजी बजारको रेड सिग्नल

काठमाडौँ । नयाँ सरकारले जिम्मेवारी सम्हालेको पहिलो कारोबारको दिन नै पुँजी बजारमा रेड सिग्नल देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा अर्थमन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ। यद्यपि, उनी कार्यभार सम्हालेको पहिलो कारोबार दिन नै शेयर बजारमा गिरावट आएको छ।
सरकार बन्नु अघि बजारमा निरन्तर सुधार र उकालोको लहर देखिन्थ्यो। धेरै लगानीकर्ताले यसलाई अवसरको रुपमा लिएका थिए तर आइतबारको कारोबारले धेरैको नाफाबुक प्रवृत्तिलाई बलियो बनाएको देखिन्छ। बजारमा अचानक घटावट, राजनीतिक वातावरणमा केही अनिश्चितता र पुराना दलका नेता पक्राउ पर्न सक्ने डरले लगानीकर्तामा बेच्ने दबाब सिर्जना गरेको विश्लेषकहरूले बताएका छन्।
बजारको घटावटका बावजुद प्रारम्भिक अवधिमा केही लगानीकर्ताले सुधारको अपेक्षा राखेका थिए। तर, पहिलो कारोबारको दिनमा नै ओरालो देखिनु नयाँ सरकारले सम्हालेको दिनमा पनि बजारले स्थिरता नदेखाएको संकेत हो।
नेप्सेले मार्जिन कारोबारका लागि कार्यप्रक्रिया तयार पारेको र नियमावलीलाई सार्वजनिक गरिसकेको छ। यसले आगामी दिनमा बजारमा सकारात्मक प्रभाव पर्न सक्ने अनुमान गरिएको थियो। नयाँ सरकारको सुरुवातमा पुँजी बजारले देखाएको यो रेड सिग्नलले अर्थमन्त्री वाग्ले लगायत सम्बन्धित निकायलाई बजार स्थायित्व र लगानीकर्ता विश्वास कायम राख्न थप चुनौती दिएको छ। राजनीतिक अस्थिरता, सडकमा बढेको धरपकड, र बजारमा नाफा–बुकिङ प्रवृत्ति मिलेर शेयर बजारलाई अस्थिर बनाएको छ।
पुराना राजनीतिक दलका गतिविधि, विरोध प्रदर्शनको सम्भावना र बजारमा आकस्मिक गिरावटले हालको परिस्थितिलाई थप जटिल बनाएको छ। यसको असर लगानीकर्ताको मनोविज्ञानमा परेको छ, जसले बजारमा तत्काल प्रतिक्रिया दिने क्षमता घटाएको देखिन्छ।
यद्यपि, आगामी दिनमा सरकारको स्थायित्व, नीति स्पष्टता र नेप्सेले लागू गरेका सुधार कार्यले बजारमा सुधार ल्याउने अपेक्षा गरिएको छ।












