बालेन सरकारलाई पुँजी बजारको रातो कार्पेटः भारी गिरावटले डुबे लगानीकर्ता, यी हुन् मार्केट घट्नुका कारण !

काठमाडौँ । नयाँ सरकारको पहिलो कारोबार दिन पुँजी बजारमा भारी गिरावट देखिएको छ । बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उछालको अपेक्षा धेरै लगानीकर्ताले राखेका थिए । तर, लगानीकर्ताको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेको छ ।
अहिले अर्थमन्त्रीको जिम्मेवारीमा स्वर्णिम वाग्ले रहेका छन् । अर्थतन्त्रमा दखल राख्ने र बजारका प्रवृत्तिहरू बुझ्ने उनको क्षमताले बजारमा अपेक्षा बढाएको थियो । राजनीतिक अस्थिरताको लामो समयपछि स्थायी सरकार बनेको भएता पनि पहिलो दिन बजारले त्यसको सकारात्मक संकेत पूर्ण रूपमा नदेखाएको विश्लेषकहरूले उल्लेख गरेका छन् ।
बजारमा भारी गिरावट आउनुको मुख्य कारण लगानीकर्ताको नाफा बुकतर्फ हाबी हुनु देखिएको छ । सरकार बन्नुअघि बजारमा उच्च सुधार देखिएको थियो । अहिले लगानीकर्ताले आफ्नो लाभ सुरक्षित गर्न शेयर बिक्री गरेका कारण बजारमा करेक्सन देखिएको हो । यस्तो करेक्सन दीर्घकालीन बजार स्थिरताका लागि आवश्यक नै रहेको विशेषज्ञहरु बताउछन् ।
यता, बालेन नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि एमालेले देशव्यापी प्रदर्शन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दिपक खड्का र रमेश लेखक पक्राउ परेकाले देशभर आन्दोलन फैलिएको छ । यसले जनजीवन अस्तव्यस्त बनाउँदै लगानीको वातावरणलाई असर गरेको विश्लेषण गरिएको छ ।
कसैले चैत मसान्तमा तिर्नुपर्ने ब्याज दवाबलाई पनि बजार गिरावटको कारणको रूपमा लिएका छन् । यसबाहेक, सरकारले सेयर बजारमा हुने अबैध लगानी नियन्त्रण गर्ने नीति लागू गरेको छ। बैंक खाताबाट हुने गतिविधिसम्म ट्र्याक गर्ने नीतिले केही लगानीकर्तालाई हच्काएको हुन सक्छ, जसले बजार मनोविज्ञानमा असर गरेको हुनसक्ने देखिन्छ ।
तर, स्थायी सरकार भएको र नीति स्पष्ट रहेको कारण बजारमा दीर्घकालीन सकारात्मक आशा कायम छ । अधिकांश लगानीकर्ता अझै उत्साहित देखिन्छन । नियामक निकायहरूले समेत बजारप्रति सकारात्मक नीति अवलम्बन गर्दै आएका छन् । यदि अब कुनै अवरोध आउँदैन भने बजारले छिट्टै नयाँ रेकर्ड बनाउने सम्भावना राख्दछ । दीर्घकालीन दृष्टिले स्थिर सरकार, स्पष्ट नीति, र लगानीकर्ता उत्साहले आगामी समयमा पुँजी बजारलाई सुदृढ बनाउनेमा लगानीकर्ताहरू आशावादी छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य हुन पुगेका छन् । आज फाइनान्स समूहको ३.३८ प्रतिशत, विकास बैंक समूहको २.८९ प्रतिशत, वाणिज्य बैंक समूहको २.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२५ प्रतिशत, हाइड्रोपावर समूहको २.२१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार १० कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको घटेको छ । १ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
रिडी र ङादीमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो सर्वाधिक कारोबार?












