रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अझै लम्बिएको छ।
आइतबार सर्वोच्च अदालतले उक्त रिटलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो। यसअघि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमान को इजलासमा गत ९ चैतदेखि ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ हुँदै आएको थियो।
लामो समयसम्म निरन्तर सुनुवाइ भए पनि अन्तिम निर्णयमा पुग्न नसकेपछि अब मुद्दा पूर्ण इजलासमा लैजाने निर्णय गरिएको हो। पूर्ण इजलासमा अब तीन वा सोभन्दा बढी न्यायाधीशहरूको सहभागितामा विस्तृत सुनुवाइ हुनेछ।
यसअघि करिब दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालय ले लामिछानेविरुद्ध लाग्दै आएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर हटाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि सम्बन्धित विषयमा जिल्ला अदालतहरूमा भइरहेको प्रक्रिया समेत प्रभावित बनेको छ।












