ब्रिज कोर्स र प्रवेश परीक्षाको नाममा हुने लुटधन्दा अन्त्य गर्ने सरकारको निर्णय

१६ चैत्र २०८२, सोमबार ०९:३५

काठमाडौं । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको जानकारी अनुसार यी कार्यक्रमहरूले विद्यार्थीमा मानसिक दबाब सिर्जना गर्नुका साथै शिक्षामा समान पहुँचमा असर पुर्‍याउने निष्कर्ष निकालिएको छ । साथै, अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थपिएको पनि मन्त्रालयको ठहर छ ।

मन्त्रालयका अनुसार विद्यालय तथा कलेज भर्ना प्रक्रिया सुरु हुनुअघि नै विभिन्न संस्थाहरूले प्रवेश परीक्षालाई लक्षित गर्दै यस्ता कक्षा सञ्चालन गर्दै आएका थिए, जसले प्रतिस्पर्धालाई अस्वस्थ बनाएको भन्दै रोक लगाइएको हो।

यस विषयमा मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भइसकेको र सो निर्णय कार्यान्वयन गर्न सबै सरोकारवालालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताएका छन्।

अबदेखि कुनै पनि संस्थाले यस्तो कार्यक्रम सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। अनुगमनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*