आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्ति हुने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने सम्भावनासहित मन्त्रिपरिषद्को दोस्रो बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले तीन सातादेखि खाली रहेको डेपुटी गभर्नर पदमा नयाँ नेतृत्व पाउने सम्भावना रहेको हो ।
नयाँ सरकार बालेन्द्र शाह को नेतृत्वमा गठन भइसकेको छ । अघिल्लो सरकारले डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकारलाई नै छोडेको थियो । सोही अनुसार अहिले राष्ट्र बैंकमा नेतृत्व अभाव देखिएको उक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको हो ।
यसैबीच आइतबार अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो । छलफलका क्रममा गभर्नरले नियुक्तिका लागि आवश्यक नामहरू सिफारिस गरिसकेको जनाइएको छ ।
विद्यमान व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।
कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन् ।











